भद्रपुर, १३ जेठ–केही दिनयता किट अभावले कोभिड–१९ (कोरोना) परीक्षण रोकिएको भद्रपुरस्थित कोरोना परीक्षण प्रयोगशालालाई ४०० थान किट निःशुल्क सहयोग गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत भद्रपुर १० स्थित विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ले रोग परीक्षण नरोकिने वातावरण निर्माण गर्न ४०० थान किट निःशुल्क सहयोग गरेको हो ।
सरकारी दररेट अनुसारप्रति किट ७०० रुपैया पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट ४५० रुपैयाँमा खरिद गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
सो समूहका तर्फबाट शेखर बुढाथेकी (विशाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले अस्पतालका मेडिकल सुपरिटेण्डन डा। पिताम्वर ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
अस्पताललाई किट दिन पहलमा जुटेका शेखर बुढाथोकीले मेची अस्पतालमा कोरोना परीक्षण रोकिने वातावरण बन्नु नहुने ठानेर हामीले मानव सेवाका लागि पहिलो चरणमा ४०० थान कोरोना परीक्षण किट दिएको जानकारी दिए ।
केही दिनयता मेची अस्पतालमा कोरोना परीक्षण रोकिदा सयौं कोरोना रोगी रोग मुक्त भए नभएको अन्यौलमा थिए । सयौं कोरोना लक्षण भएर पनि रोग पहिचान गर्नबाट बञ्चित भएका छन् । किट ल्याउने जिम्मेवार पक्ष अन्यौलमा रहेका बेला विद्यार्थी समूहको सहयोगले केही राहत मिलेको छ ।
