काठमाडौं, १५ जेठ–सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्याएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८।७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। यसअघि भत्ता ३ हजार रहेको थियो।
सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८।७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।
२०५२ सालमा तत्कालिन एमालेको अल्पमतको सरकारले मासिक १ सय दिने गरि बृद्ध भत्ता शुरु गरेको थियो।
नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम मातहत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिन शुरु गरेका थिए ।
पछि भरतमोहन अधिकारी नै अर्थमन्त्री भएकाबेला २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा।बाबुराम भट्टराईले ५०० पारेको उक्त रकम २०७१ सालमा नेपाली कांग्रेस सरकारका अर्थमन्त्री डा।रामशरण महतले १ हजार रुपैयाँ पुर्याए।
अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।
मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।
