दमक, १७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले आजदेखी अस्थाई कोभीड अस्पताल संचालनमा ल्याउने भएको छ । वडा नम्बर ११ को झरना क्वारेन्टाइनलाई नगरले अस्थाइ कोभीड अस्पताल बनाएको हो ।
सोमबार दिनभर आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने भएकोले साँझदेखि संचालनमा आउने नगरका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष इजमले बताए । उनले भने, ‘बेड, पंखा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवास, भान्सामा आवश्यक सामग्रीको व्यवस्थापन, विद्युत, संचार लगायतका पूर्वाधार सोमबार दिउँसो तयार गर्नुपर्ने भएकाले साझदेखि अस्पताल संचालनमा आउने छ ।’
शिवसताक्षी नगरले संचालनमा ल्याउन लागेको अस्थायी कोभीड अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार हुनेछ । त्यसका लागि १ जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स, १ जना कार्यालय सहयोगी र अर्का एक जना भान्से नगरपालिकाले जनशक्ति उपलब्ध गराएको नगर प्रमुख शेर्माले बताए । उनका अनुसार अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल संचालनमा आउने भएको हो ।
कोरोनाको दोश्रो लहर सुरु हुनु अगावै सो अस्पतालको उद्धघाटन भएको थियो । नगरका अधिकाँस संक्रमित अस्पताल र होम आईसोलेशनमा रहेकाले नगरले स्थापना गरेको कोभीड अस्पताल खाली नै थियो । अक्सिजन लगायत अन्य औषधी सेवन गर्न संक्रमितलाई चिकित्सकको सल्लाह आवश्यक पर्ने भएकाले जटिल प्रकृतिका संक्रमितलाई नगरको कोभीड अस्पतालमा ल्याएर नगरपालिकाले नै उपचार गर्ने २ नम्बर वडाका अध्यक्ष कुलवहादुर बस्नेतले बताए ।
यता, स्थानीय तहमा स्थापित शिवसताक्षी नगरको अस्थायी कोभिड अस्पताललाई लुथरन विश्व फेडेरेसन नेपालले आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा नगरपालिकाले स्थापना गरेको शिवसताक्षी अस्थायी कोभीड अस्पतालाई फेडेरेसनको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालाई लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङ्गले स्वास्थ्य सामग्री प्रदान गरेको हो । फेडेरेसनले १० थान पिपिइ सेट, एन्टिजेन किट ३० थान, भिटिएम किट ५० थान, सर्जिकल माक्स ५ सय थान प्रदान गरेको नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले बताए ।
विमलीका अनुसार सेनिटाइजर १० लिटर, ल्गोव्स, २ सय सेट, अक्सिमिटर २ सेट, भेपोराइजर २ सेट र थर्मलगन २ सेट नगरको अस्थायी कोभिड अस्पताललाई प्राप्त भएको छ ।
