काठमाडौं, २४ जेठ–नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका निम्ति आह्वानसहित जारी गरेको ६ बुँदे प्रस्ताव भ्रमपूर्ण भएको निष्कर्ष निकालेको छ।

आज बसेको यो समूहको स्थायी कमिटी बैठकले ओली एकताको पक्षमा नरहेको भन्दै ६ बुँदे प्रस्ताव जाली झेली र षड्यन्त्रपूर्ण तवरले आएको निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनले ओलीले २०७५ जेठ २ लाई अस्वीकार गरि जेठ ३ मा फर्कने कुरा प्रष्ट नभएको भन्दै यो षड्यन्त्रपूर्ण भएको उल्लेख गरिन्। उनले ओलीको यहि कुराले पार्टी एकतालाई इन्कार गरेको उल्लेख गर्दै तल्ला तहसम्म प्रभावित पार्नेगरी कारबाही गर्दिन भन्ने जाल फ्याकेको बताइन्।

गल्ती माफीका कुरा गरिएको भएपनि अध्यक्ष आफैंले गरेको गल्तीबारे केही उल्लेख नगरिएको र अझैं पनि ओलीमा दम्भ कायमै रहेको शाक्यको भनाई छ।

बैठकले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनसायले आएको निष्कर्ष निकाल्दै संसद विघटन बेठिक हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको शाक्यले बताइन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका निम्ति आह्वान गर्दै ६ बुँदे प्रस्ताव गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *