महोत्तरी, ३ असार–महोत्तरीमा डाँका समुहले पछिल्लो समय आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरीको लोहारपटटी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भीर घाइते बनाएकोमा बिहीबार मध्यरात समेत सोहि प्रकृतिको घटना घटाएको छ ।
जिल्लाको सम्सी गाउपालिका १ पर्सा बजारदेखि करिब दुईसय मिटर उत्तर सम्सी गौशाला सडक खण्डमा पर्ने राजिव ज्लेलर्समा मध्यरात आएको लुटेरा समुहले गरगहना तथा नगद लुटपाट गरे । त्यतिमात्र नभइ सोहि पसलको पछाडि अर्को घरमा वस्दै आएका पसल संचालक र उनको परिवारलाई गोली र रड प्रहार गरि घाइते बनाएको छ । प
सल संचालक विरेन्द्र साहको ढाडमा गोली लागेको छ । उनकी श्रीमती शुशिला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, १७ वर्षीय राजिव साह र छोरी २० वर्षीय कन्चन कुमारी साहलाई रडले हानेर घाइते बनाएको छ ।
उक्त अज्ञात लुटेरा समुहले गोली हानी घाइते बनाएका विरेन्द्र साहलाई राती नै उपचारको लागि जनकपुर स्थित गोदावरी अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको छ भने परिवारका अन्य सदस्यहरुको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता लुटपाट गर्न आएका डाँका समुह घटनापश्चात फरार रहेकोमा उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
पसलबाट नगद दुईलाख, सुन पाँच तोला र चाँदी एक सय ७२ तोला लुटिएको प्रारम्भिक जानकारी रहेको प्रहरीको भनाई छ । कटुवा पेस्तोल सहित लुटपाट मच्चाउदै आएको समुहलाई तत्काल पक्राउ गर्न स्थानीले माग गरेका छन् ।
