पाडाजुङ्गी (कमल), ४ असार–झापाको दमकका महिला अगुवाहरुको सक्रियतामा स्थापना भएको सामाजिक काम गर्ने संस्था सुन्दर समाज नेपालले कमजोर आर्थिक अवस्थाका साहाराविह्रिन दुई परिवारलाई राहत वापत खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको छ । दमक नजिकै रहेको कमल गाउँपालिका वडा नं ५ पाडाजुङ्गीदेखी उत्तर टुकुरे गाउँका रत्न विश्वकर्मा र संगीता राईको घरैमा पुगेर सुन्दर समाज नेपालले राहत वापतको खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको हो ।
रत्न र संगीताको कथा एउटै छ । उनीहरु एउटै गाउँमा बसोबास गर्छन् । दुबैको पीडा मिल्दोजुल्दो छ । उनीहरु दुबैजना एकल महिला हुन् । दुबैको घरायसी अवस्था अत्यन्तै कमजोर छ । परिवारको मुख्य जिम्मेवारी मान्छे श्रीमानको निधनपछि उनीहरु कष्टकर जीवन बिताइरहेका छन।
४८ वर्षिया रत्न (आङदम्बे) विश्वकर्मा प्यारालाइसिस भएर घरैभित्र थलिएर बसेका दुई वर्ष भयो । उनी हिड्डुल गर्न सक्दैनन् । घरैभित्र वा बलेसीदेखी आँगनसम्म उनी कष्टले आवत-जावत गर्न सक्छन् ।
रत्नको श्रीमान मनबहादुरले अढाई वर्ष अघि देहत्याग गरे । सोच्दै नसोचेको घट्ना भयो, रत्नले भनिन्–’आफ्नै घरभित्र पासोमा झुण्डिएर मनबहादुर मरे ।’ त्यसपछि, रत्नले दुई छोरीको लालन पालनको जिम्मेवारी लिए तर दुईवर्षदेखी उनी आफै प्यारालाइसिसले थलिएका छन् । ठूली छोरी घर छाडेर कता गइन, थाहाँ छैन, रत्नले भनिन्–’सुन्छु उनी वीरगञ्जमा छिन रे । तर, के कस्तो अवस्थामा छन । अत्तोपत्तो छैन् ।’
रत्नकी कान्छी छोरी जीना विश्वकर्मा गाउँको एक बिद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । गुहेश्वरी आधारभूत बिद्यालयमा कक्षा–७ मा अध्ययनरत जीना पठन-पाठनमा अब्बल छिन् । उनको बिद्यालयमा पुस्तक, कपी, कलम, पोशाक लगायतका खर्चको बन्दोबस्ती दमक निवासी उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यसमेत रहनुभएकी सुन्दर समाज नेपालका उपाध्यक्ष लक्कि सिटौला (विन्दु) ले अभिबाहकत्व ग्रहण गरेका छिन । उनीसँगै संगीता राईकी छोरी सपुको समेत अभिबाहकत्व ग्रहण गरेका छिन। सपु कक्षा-४ मा गुहेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत छिन् ।
यता, ३२ वर्षिया संगीता (श्रेष्ठ) राई सुन्न र बोल्न सक्दिनन् । उनी, मुस्किलले मात्रै सुन्न सक्छिन र बोल्न पनि उनलाई गाह्रो हुन्छ । बोल्दा उनको प्रष्ट आवाज आउदैन।
‘उनको श्रीमान पुष्पको गत वर्ष पानीमा डुबेर निधन भएको हो । ज्यालामजदुरी गरेर जीविका पार्जन गर्ने पुष्पको निधनपछि संगीतासहित तीन जना छोरीको दैनिक जीवन यापनमा समस्या भएको छ’, स्थानीय गंगा लिम्बूले बताईन् ।
उनको घर रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रभित्र पर्दछ । वाँसको टाटी बेराले बनाएको घर फुषले छाएको छ । वर्षामा पानी चुहिएर बस्नै नहुने भएको छ, वरीपरी बाँसको टाटी-बेरा धमिरा लागेर खस्नै लागेको जीर्ण बन्दै छ ।
संगीतालाई सवै छोरीहरुलाई बिद्यालय पठाउन मन छ । घरलाई राम्रो बस्न हुने र सुरक्षितसँगले सुत्न हुने बनाउन मन छ । तर, उनको यो चाहाना पुरा भएको छैन। श्रीमानको निधनपछि, संगीताको तीन जना छोरीहरु सपु राई, विपासा राई र एलिना राईको स्याहार-सुसारमा समस्या छ । उनीहरुलाई दैनिक खाना खुवाउन समस्या छ ।
शुक्रबार, यी समस्याग्रस्त जीवन बिताइरहेका संगीता र रत्नको घरैमा पुगेर सुन्दर समाज नेपालको टोलीले एक कार्यक्रमबीच चामल ५० केजी, चिउरा १० केजी, दाल २ केजी, आलु ५ केजी, नुन २ पोका, तेल २ लिटर, हात धुने सावुन २ थान, कपडा धुने सावुन एक दर्जन र चाउचाउ १ कार्टन वितरण गरेको छ । यी सामाग्रीहरु सुन्दर समाज नेपालका पदाधिकारी र सदस्यहरुले आ-आफ्नो घर खर्चबाट बचाएर खरिद गरिएको हो ।
संस्थाका अध्यक्ष रुपा सेलिङ, वरिष्ठ उपाध्यक्ष जमुना राई शेर्मा, उपाध्यक्ष लक्की सिटौला (बिन्दु), सचिव गंगा ढकाल, सहसचिव मनु साङपाङ राई, कोषाध्यक्ष झरना लक्सम लिम्बूसहित सदस्यहरु अनु चेम्जोङ ताजपुरिया, कुसुम ढुंङ्गेल, दिपा सुब्बा, बिमला जोशी, पुनम लिम्बू लगायतका छन् ।
सो अवसरमा संगीताको घर पुर्ननिर्माणका लागि पहल अघि बढाइने, थप राहतको व्यवस्थापनमा जुट्ने र वडा कार्यालयमा जन्मदर्ता, मृत्यु दर्ता लगायतका कागजात जुटाउने र राज्यबाट वितरण हुने सेवा-सुविधा उपलब्ध गराउने कार्यमा सुन्दर समाज नेपालले उनीहरुलाई सहयोग गर्ने समेत जानकारी गराइएको छ ।
