दोलखा, ५ असार–लगातारको भारी वर्षापछि गएको पहिरोले थुनिएको तामाकोशी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।

पहिरोले थुनिएको खोला ताल बनेको छ । ताल जमेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताएका छन् । ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । ‘ताल बनेको खोला फुटाउने काम सुरु भएको छ,’ घिमिरेले भने, ‘सम्भावना कतिको हुन्छ, अझै यसै भन्न सकिदैन ।’

ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले सुनाए । उक्त खोलाबाट बाढी आउन सक्ने आंकलन गर्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

तामाकोशी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । आयोजनाको बाँधले प्रतिसेकेण्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने छ । तामाकोशीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *