झिलझिले, ५ जेठ–झापाको दूधेमा साप्ताहिक हाट लाग्ने टहराको स्तरोन्नती गरिएको छ । शिवसताक्षी ११ दूधेमा हाटबजार लाग्ने टहरा बर्षौपछि स्तरोन्नती गरिएको हो । हाल सो स्थानमा ५ ओटा टहरा निर्माण गरिएको छ ।
संसद विकास कोष र वडा नं ११ को लगानीमा दूधे बजार विकास समितिले उपभोक्ता समिति मार्फत टहरा निर्माण गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ११ बाट १८ लाख ८९ हजार र संसद विकास कोषको १२ लाख २२ हजार गरी ३१ लाख ११ हजार ४ सय ११ लागतमा टहरा, बजार एरियामा माटो भरी ग्रेडिङ्ग रोलिङ्ग गरिएको वडाध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त टहरमा कम्तिमा ४० ओटा पसल सञ्चालन गर्न मिल्ने छ । त्यसै गरी बजार विकास समितिले सो स्थानमा रहेको पुराना टहरा १ लाख ६० हजारमा विक्री गरी रकम नगरपालिकालाई बुझाएको जनाएको छ ।
टहरा २० फुट चौडाई र ४० फुट लम्बाई र एस एम प्लेट सहित निर्माण गरिएको नगरपालिका प्राविधिक राम खतिवडाले बताए ।
टहराको शिवसताक्षी नगरपालिकाकी उपमेर भोकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई र प्राविधिक राम खतिवडाले अवलोकन गरेका छन् ।
वर्षौ अघिदेखि लाग्दै आएको दूधे बजारमा व्यापारीले भोग्दै आएका पीडा यसपालिदेखि हल भएको उपमेयर भोजकुमारी नेपालले बताइन् । पानी पर्दा बजारमा भएका पुराना टहरा देखि पानी चुहिने, र बजारभित्र पानीको भल पसेर बजार उठाउनु पर्ने बाध्यता अब नरहेको उपमेयर नेपालको भनाई छ ।
उनका अनुसार अब नगर भित्रका सबै साप्ताहिक लाग्ने हाट बजारहरुलाई व्यवस्थित गर्दै लगिने छ । टहरामा ४० बढी पसलहरु राख्न मिल्ने उनले बताए ।
