काठमाडौँ, ७ असार–नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन् ।

देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल सहभागी बैठकमा विपक्षी गठबन्धनलाई थप मजबुद गराउँदै लैजाने विषयमा छलफल भएको थियो ।

तत्काल प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्न सक्ने निष्कर्ष नेताहरुले निकालेका छन् । बैठकमा देउवा र दाहालले गठबन्धन नछाड्न एमाले नेता नेपाललाई आग्रह गरेको एक नेताले बताए ।

नेता नेपालले आफूले गठबन्धन नछाड्ने बताएको ति नेताले सुनाए । संघमा संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले केही समय पर्खिने र फैसला आफूहरुको पक्षमा नआए आवश्यकताअनुसार अघि बढ्ने निष्कर्ष निकालिएको ति नेताले बताए ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *