दमक–असार, साउन र भदौ महिनाको झरी र बर्षात होस् । चाहे, फागुन, चैत र बैखाखको हुरी बताँस होस् । अझै, मंसिर, पुष र माघको चिसो समयमा होस् । एक छाक मिठो मसिनो खाएर आनन्दले सुत्नसम्म निकै कष्टकर अवस्था बिताउदै आएकी झापा कमल गाउँपालिका वडा नं ५ टुकुरे निवासी संगीता श्रेष्ठ राईको जीवनमा नयाँ दिन सुरुवात भएको छ ।

मनकारी दाताहरुको संयुक्त प्रयासमा संगीताले नयाँ घर पाएकी छन् । जीर्ण अवस्थाको उनको घरलाई भत्काएर त्यहाँ नयाँ घर निर्माण भएको छ । फुसकै छानो र बाँसको भाटाले बनेको जीर्ण अवस्थाको घर भत्किएको छ । अहिले त्यहाँ व्यवस्थित घर बनेको छ ।

तीन सन्तानकी आमा संगीताको श्रीमान पुष्प राईको गत वर्ष रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । संगीता बोल्न र सुन्न सक्दिनन् । काखमा दुई छोरी सपु (ठूली) र विपासा (माइली) भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा संगीताका पति पुष्पको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । त्यसको ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जीवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।

आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता । छिमेकी शान्ता लिम्बूका अनुसार मुर्छा पर्ने बिराम पनि रहेछ, खोला छेउमा गएको बेला पुष्पाको डुबेर मृत्यु भएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन–’सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।’

टुकुरेस्थित घरमा पुष्पा र संगीता आउनुअघि उनका काका ससुराको घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएका हुन, शान्ता लिम्बुले भनिन । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो, उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो । छिमेकी शान्ताको बुझाईमा संगीताका लागि जीवनकै सबैभन्दा धेरै खुशी यो घर प्राप्तीले दिएको छ ।

तीन जना छोरी सहित उनको पछिल्ला कष्टकर जीवन सार्वजनिक भएसँगै सहयोगी संघसंस्थाहरुले खानेकुराको बन्दोबस्ती गरिदिएका थिए । तर, खानेकुराले मात्रै उनको समस्या पुरा नहुने स्थानीय छिमेकी र गाउँका बुद्धिजिवीहरुले कथन गरेका थिए ।

समस्यै समस्याले बाँधिएकी संगीताको निम्ति घर आवश्यक्ता सम्बन्धी सञ्चार माध्यमहरुमा प्रकाशन र प्रसारण भएसँगै कमल गाउँपालिकास्थित पाडाजुङ्गीका सामाजिक तथा राजनीतिक अग्रज तथा अगुवाहरु घर निर्माणमा जुटेका थिए । उनीहरुको संयुक्त प्रयासमा तीन दिनमै संगीताले नयाँ घर पाईन् ।

कमल गाउँपालिकाका सामाजिक तथा राजनीतिक अगुवा हुकुमसिंह राईको नेतृत्वमा संगीताको नयाँ घर निर्माण भएको हो । संगीताको घर निर्माणमा राईसहित दर्जन बढी मनकारी व्याक्तित्वहरुको साथ छ । स्थानीय एकराज प्याकुरेल, थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल लगायतले घर निर्माणमा आर्थिक सहयोग गरेका छन् ।

घर निर्माणमा भौतिक रुपमा नीन दिन निरन्तर लागिपर्ने चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीको योगदानलाई सम्मान गर्नु पर्ने हुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *