दमक, १४ असार–झापाको कमल गाँउपालिका वडा नम्बर ५ को कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
पाडाजुङ्गीस्थित चौक पूर्व पाथीभरा चौकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मीत वडा कार्यालय भवनको एक नम्बर प्रदेश सभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गरे ।
उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २५ र गाउँपालिकाको रु ५४ लाख गरि कुल रु ७९ लाख रुपैयाको सभाहलसहित ६ कोठे एक तले पक्की वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए ।
भवन उद्घाटन पछि आजदेखि नै कार्यालय आफनै भवनबाट सञ्चालनमा आएको वडाध्यक्ष निरौलाले बताए । यसअघि, वडा कार्यालय पाडाजुंगीस्थित एक भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राई, गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले, साविक लखनपुर गाविसका अध्यक्ष भोजकुमार घिमीरे, समाजसेवी बिष्णु पौडेल, पूर्णानन्द शर्मा लगायतले वोलेका थिए ।
वडा सदस्य गीता गजुरेलले स्वागत मन्तव्य राखेको भवन उद्घाटन कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ,कमल १ का वडाध्यक्ष केदार कटुवाल, सामाजिक अगुवा दिलीप वान्तवा लगायत, वडाध्यक्षहरु, वडासचिव, विद्यालयका प्रअ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भवन निर्माणका लागि स्थानीय सन्तोष,राजकुमार,नरेन्द्र,बिष्णु ,प्रेम र कृष्ण कार्की दाजुभाईले आफना दिवंगत पितृ चिनबहादुर र चन्द्रकला कार्कीको स्मृतिमा करिव रु ३० लाख मूल्य पर्ने १७ धुर जग्गा निशुल्क उपलव्ध गराएका थिए ।
२०७७ बैशाख २७ गते शिलान्यास गरिएको भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय एक अनुगमन समिति समेत गठन गरिएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव रिता कार्कीले गरेकी थिइन् ।
