इटहरी, १८ असार–सप्तकोसी नदीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ । बहाव बेला–बेला बढ्ने र घट्ने भइरहेको हो ।
उच्च हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा भएर सहायक नदीमा समेत बाढी आउँदा सप्तकोसीमा बहाव बढ्ने गरेको छ । पहाडमा वर्षा रोकिँदा नदीको बहाव पनि घट्ने गरेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
तराईमा हुने वर्षाले भने सप्तकोसीको पानीको सतहमा खासै असर नगर्ने बताइएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्यूसेक मापन गरिएको थियो । त्यतिबेला कोसी ब्यारेजका २१ वटा ढोका खुला गरियो । तर बेलुका बहाव घटेर एक लाख १८ हजार क्यूसेकमा झर्दा २० वटा मात्रै ढोका खुला गरिएको थियो ।
आज (शुक्रबार) बिहानसम्म आइपुग्दा सप्तकोसीमा पानीको बहाव निक्कै घटेको कन्ट्रोल रुमले जनाएको छ । आज बिहान बहाव एक लाख १४ हजार क्यूसेकमा झरेको छ । कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको छ ।
पहाडी क्षेत्रमा पानी परिरहँदा सप्तकोसीमा पानीको बहाव बढ्नसक्ने जनाइएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । ‘सप्तकोसीको बहावमा उतारचढाव कायमै छ । वर्षा पनि निरन्तर भइरहेको छ,’ उनले भने, ‘त्यही भएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो ।
नदी बढेर निम्तनसक्ने विपत्तिपछिको उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा छन् ।बहावमा देखिएको उतारचढावका कारण नदी वरपर कति बेला पस्थिति कस्तो बन्छ भनेर भन्नसक्ने अवस्था नरहेकाले सबैलाई सुरक्षित रहन बेलैमा सचेत गराइएको एसपी थापाले बताए ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।
रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ ।
