काठमाडौं, २२ असार–महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई बुझाएको छ ।
मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइ्कल र आठवटा स्कुटर छन् ।
पछिल्लो समय चोरी भएर बरामद गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरोहोन्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ । युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाइ महाशाखाको छ ।
महाशाखाले चालु आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको जनाएको छ ।
