काठमाडौं, २५ असार–नेकपा (एमाले) विवादको समधानको लागि क्रियाशील कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुले दाबी गरेका छन् । अधिकांस बिषयमा सहमति भएको र एकाध विषय अझै टुंगिन बाँकी रहेको ती सदस्यहरुको भनाई छ ।
शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा करिब ७ घण्टा कार्यदलको बैठक बसेको थियो । बाँकी रहेको बिषयलाई शनिबार अन्तिम रुप दिने नेताहरुको दाबी छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्रतिनिधित्व गरेका कार्यदलका सदस्य तथा सचिव गोकर्ण विष्टले धेरै विषयमा सहमति भएको र एकाध विषय अझै टुंगिन बाँकी रहेको बताए । विष्टले भने, ‘अधिकांस बिषयमा सहमति भएको छ । एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ ।’
अध्यक्ष केपी ओली पक्षका कार्यदल सदस्य तथा सचिव प्रदीप ज्ञवालीले सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषय बाँकी रहेको बताए । ज्ञवालीले भने, ‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं ।
झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं ।’
एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्ने चिन्तालाई दुर गर्ने गरी काम भइरहेको उनको बताए । भने, ‘यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टुग्याउने छौं ।’
वरिष्ठ नेता नेपाल पक्षका अर्का सदस्य रघुजी पन्तले केही विषय मिल्न बाँकी रहेको बताए । भने, ‘केही अझैँ मिल्न बाँकी छ। त्यो पनि छलफलबाट टुंगिएला। भोली फेरि हामी बस्ने छौँ।’ कार्यदलको बैठक गत सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरूले दैनिक जसो सहमतिको नजिक पुगेको दाबी गर्दै आएका छन् ।
२ जेठ २०७८मा गठन भएको कार्यदलमा कार्यदलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबाट पाँच–पाँच जना छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।
