काठमाडौं, २९ असार–कुनै समय भन्ने गरिन्थ्यो– माधव नेपालको स्वभाव ढुलमुले छ । आफ्नै निर्णयमा टिक्दैनन् ।
उनको नेतृत्वकालमा एमालेलाई ठोस निर्णय नलिने पार्टीको रूपमा पनि व्याख्या हुन्थ्यो । खासगरी, यो सन्दर्भ ०६२/६३ पछिका केही राजनीतिक घटनाक्रममा बढ्ता प्रकट भएका थिए । एमाले निर्णायकभन्दा बढ्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटाउने पार्टीजस्तो बनेको थियो ।
२८ असार ०७८ सम्म आइपुग्दा तिनै नेता नेपाल सबैभन्दा बढी अडान राख्ने नेता बन्न पुगेका छन् । २३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपा बदर गरेपछि एमालेभित्रै अन्तरसंघर्ष गर्न हिँडेका नेता नेपालले जसरी राजनीतिक अडान राखे, त्यसले भने अडान भएकै नेताको छवि बनाएका छन् ।
२३ फागुन ०७७ पछि नेता नेपालको शक्ति निरन्तर क्षयीकरण भइरहेको छ । जस्तो कि एमालेमा ४२ जना सांसद नेता नेपालनिकट मानिन्थे । एमाले संस्थापनको निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री समर्थन गर्दा सांसद घटेर २६ भए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिँदा त्यो पनि घटेर १० जेठमा आइपुग्दा २३ जनामा सीमित भइदियो ।
अध्यक्ष ओलीले नेपालको शक्ति क्षयीकरण गराउन सफल भए तर नेपाललाई मनाउन सकेनन् । २ जेठ ०७५ मा एमालेको सांगठनिक संरचनालाई पुर्याउनुपर्ने अडानमा नगलेका नेता नेपाल ओलीले प्रतिनिधिसभा विघटन गरेका घटनाको व्याख्यामा पनि झुकेनन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिने प्रयास गरिरहेका बेला प्रतिगमन आधा सच्चिएको निर्णय लिँदा उनी पार्टीको महासचिव थिए । त्यो निर्णय महासचिव नेपाल र एमालेको जीवनकालभरि पोलिरहने परिघटना भइदियो । त्यसको अपजस हरेकजसो अन्तरविरोधमा नेपालमाथि आइरहन्छ ।
हुन पनि माधव नेपाल राजनीतिकभन्दा प्रक्रियामुखी नेताका रूपमा चिनिन्छन् । ठूला राजनीतिक निर्णय लिने भरसक हिम्मत गरी नहाल्ने तर विधि र प्रक्रियाको मुद्दामा भने अडान नछोड्ने स्वभाव नेता नेपालमा रहेको उनीनिकटका नेता बताउँछन् । नेपालसँग लामो समय सहकार्य गरेका ती नेताले भने, ‘केपी ओली पोलिटिकल निर्णय लिन्छन्, नेता नेपाल प्रक्रियामा जोड दिन्छन् ।’
सम्भवतः यही कारणले नेता नेपालमाथि ढुलमुले, अडान नभएको र प्रक्रियामुखी नेताको रूपमा टिप्पणी भइरहन्थ्यो । पार्टीभित्र पनि नोट अफ डिसेन्ट लेख्ने र छोड्ने गर्थे । अध्यक्ष केपी ओलीसँग असहमति राख्ने क्रममा होस् वा नेकपाकालीन समयमा पनि नेता नेपालले तीन पटक नोट अफ डिसेन्ट लेखेका थिए । त्यसले केही अडानजस्तो देखाउने गरेको थियो ।
