दमक, २९ असार–नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीको अवसर पारेर झापाको काकडिभिटामा पत्रकार मुक्ति पौडेल पुरस्कृत भएका छन् ।
भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले यस वर्षको भानु पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेललाई नगद २१००० हजारसहित सम्मान पत्र प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीका अनुसार प्रतिष्ठानले स्थापना गरेका पाँचवटा पुरस्कारहरुमा भानु १ लाख १ हजार, कृष्ण–पवित्रा उप्रेती ५१ हजार, हेमराज–मेदनी खरेल ५१ हजार, पत्रकारिता २१ हजार र साहित्य प्रतिभा १५ हजार राशीका रहेका छन् ।
भानु पुरस्कारबाट राष्ट्रिय विभूति श्याम शर्मा, चुडामणि रेग्मी, रोहिणी विलास लुइँटेल, कोमलप्रसाद पोखरेल, जीवन शर्मा, राजेन्द्र शर्मा विभूषित भइसकेका छन् । यसमध्ये पत्रकारिता पुरस्कार मात्रै वितरण गर्ने तयारी भएको अध्यक्ष उप्रेतीले बताए ।
पत्रकारिता पुरस्कारबाट पत्रकार मुक्ति पौडेल पुरस्कृत भएका छन् । यसअघि उक्त पुरस्कारबाट पत्रकार पर्वत पोर्तेल, राजु अधिकारी सम्मानित भइसकेका छन् ।
सम्मानित पत्रकार पौडेल प्रेष चौतारी नेपाल झापाको अध्यक्ष हुन् । उनी जन–संसद् दैनिकका प्रधान सम्पादक हुन् । पाँचथर जिल्ला कुमायक गाउँपालिका वडा नं १ यासोकको खाल्डेमा विसं। २०३४ जेठ ४ गते बुबा चन्द्रबहादुर पौडेल र आमा टीकामाया पौडेलका कान्छा छोराको रुपमा जन्मिएका उनी पत्रकारिता क्षेत्रमा स्थापित भइसकेका छन् ।
पत्रकार पौडेल मेची बोर्डर जर्नालिस्ट एसोसिएसन, प्रेस क्लब मेचीनगर, इन्डो नेपाल जर्नालिस्ट एसोसिएसनको नेतृत्व कुशलता साथ निर्वाह गरिसकेका छन् ।
पौडेलले २०६० साल असोज १९ गतेबाट मेची–महाकाली साइकल यात्रा गर्ने नेपालकै पहिलो पत्रकारको रूपमा समेत कीर्तिमान बनाएका छन् । उन्नाइस वर्षदेखि निरन्तर पत्रकारिता पेसामा समर्पित पौडेल अहिले पनि उत्तिकै उत्साहका साथ पत्रकारिता यात्रामा सक्रिय छन् ।
