पर्वत, ७ साउन–एसियाकै ठूलो ढुंगा भएको दाबी गरिएको पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा रहेको महाशिला परिसरमा १ सय ८ धारा निर्माण गरिएको छ। नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत रहेको महाशिला क्षेत्रलाई धार्मिक पर्यटनको हिसाबले विकास गर्ने उद्देश्यले १ सय ८ जलधारा निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता तथा शिला रहेको लुँखुदेउरालीका वडाध्यक्ष जीवनविक्रम उचैले बताए। ‘गाउँपालिकाको नाम नै यही शिलाको नामबाट राखिएको छ, गाउँपालिकामा रहेका पर्यटकीय सम्भावनाका ठाउँमध्ये उत्कृष्ट यही शिला हो।’ उनले भने, ‘विशेषत हिन्दु धर्मका अनुयायी र अवलोकनका लागि अन्यलाई पनि आकर्षण गर्ने उद्देश्यले शिला क्षेत्रमा मूर्ति, मन्दिर र सत्तल पनि बनाएका छौँ।’
गण्डकी प्रदेश सरकारले प्रदेशका पर्यटकीय ठाउँहरूको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले महाशिला क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ अनुदान दिएको थियो। सोही रकमबाट डिपिआर तयार गरेर महाशिला क्षेत्रको विकासका लागि विभिन्न कामहरू भइरहेको र अब कम्तीमा पनि २ सय जना मानिस अटाउन सक्ने गरी आश्रय स्थल निर्माण गर्ने पालिकाको योजना छ। शिलाको उचित प्रचार हुनसके धेरै विदेशी पर्यटकहरु आउने तथा महाशिलाकै चिसापानी क्षेत्रमा रहेको पदमार्गमा पनि उनीहरूलाई लैजान सकिने प्रवक्ता उचैले बताए।
यस्तो छ महाशिलाको पौराणिक कथन
शिव पुराणमा भगवान् शिवले युद्ध गर्दा नन्दीको रूप धारण गरी लड्दा नन्दीको एउटा सिङ भाँचिएको र त्यही सिङ नै शिला बनेर प्रतीकको रूपमा रहेको भन्ने उल्लेख गरिएको धार्मिक पूजाआजामा संलग्न रहँदै आएको केही पुजारीहरू बताउँछन्। पर्वतकै पाङमा जन्मिएकी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउँ भनी गरेको ब्रत र तपस्यापछि भगवान् शिव अहिलेको शिला रहेकै ठाउँमा उत्पत्ति भएर पार्वतीलाई दर्शन दिएको भन्ने किंवदन्ती पनि महाशिला क्षेत्रमा सुन्न पाइन्छ।
यस्तै करिब ३ सय वर्ष अगाडि भारतका एक धार्मिक व्यक्ति स्वामी नारायण कठोर तपस्याका लागि निलगिरी क्षेत्रको हिउँमा जाने क्रममा केही दिन शिलामै आश्रम बनाएर बसेको भन्ने आफूले सुनेको र यसको प्रमाण भारतको गुजरातमा रहेको मन्दिरमा ती स्वामीका बारेमा लेखिएका पुस्तकमा पनि रहेको वडाध्यक्ष उचैले बताए। महाशिला गाउँपालिकामा पर्यटकीय आकर्षणका गन्तव्यका रूपमा रहेका अन्य ठाउँमा पैयुँकोट, चिसापानी, धुवाँकोट, गँगाधर गुफा, दुक्तान बसाहा, गोल्र्याङ र बौद्ध गुम्बा रहेका छन्।
पालिकाले चिसापानीमा भ्यु टावर निर्माण गरेर उच्च पहाडी र हिमचुुचुराहरुको अवलोकनमा रमाउने पर्यटकलाई आकर्षण गर्ने, पैयूँकोटमा प्याराग्लाइडिङ उडानको परीक्षण गरी त्यसलाई व्यवसायिक बनाउन लाग्ने, चिसापानी र आसपासका ठाउँमा रहेका लोपोन्मुख जडीबुटी तथा अन्य वनस्पतिलाई कृषि वनसँग सम्बन्धित रहेर अध्ययन गर्ने वातावरणीय क्षेत्रको रूपमा विकास गर्ने योजना पनि राखेको छ।
