विराटनगर, ११ असोज–विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो ।

सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् । कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउने एजेण्डा तय गरिएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघियतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल हुने बताए ।

प्रदेशहरुको आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको उनले जानकारी दिए ।

सरकारले कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू सहभागी रहने जानकारी दिए ।

असोज २२ गते उद्घाटनपछि असल अभ्यासहरूको बारेमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेशले भोग्नु परेका समस्या, स्थानीय तह संघीय सरकारसँग गर्नुपर्ने समन्वय र कानुनी पाटाका बारेमा छलफल हुने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *