काठमाडौं, ११ असोज–प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको ठाडो निर्देशनमा पूर्वप्रधानन्यायाधीश राणालाई पिएसओसहित शनिबार मध्यरात घरबाटै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
अदालती प्रक्रियामा रहेका विचाराधीन विषयमा चासो राख्दै बुढानीलकण्ठमा रहेको टेम्पल ट्रीमा निरन्तर शंकास्पद भेटघाटको सूची टिमबाट प्रधानमन्त्री शाहसम्म पुगेपछि मध्यराति उनलाई बाँसबारीको घरबाटै नियन्त्रणमा लिइएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यरात उनको घरमा पुगेर नियन्त्रणमा लिएर कार्यालयमा आएको थियो।
मध्यराति नै अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले राणासँग सोधपुछ गरेका थिए। सोधपुछको विषय न्याय क्षेत्र, अदालतमा विचाराधीन मुद्दाका प्रतिवादी र केही राजनीतिक तथा व्यापारीलगायतसँगको भेटघाटको प्रयोजन थियो।
सरकारले भने राणालाई जेनजी समूहबाट असुरक्षा भएकाले प्रहरीले सुरक्षित ठाउँमा राखेको दाबी गर्दै आएको छ । तर स्रोतका अनुसार पछिल्लो केही समययता पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ छाडेर केही शक्ति समूह राणाकहाँ पुग्न थालेको चर्चा चलेको छ । त्यही शंकाका आधारमा प्रधानमन्त्री शाहकै आदेशमा राणालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
राणालाई पक्राउ गरेको विषयमा कांग्रेस, एमाले, नेकपा, कानुन व्यवसायी, पूर्वन्यायाधीश, नागरिक समाजलगायतले कडा आपत्ति जनाएका छन् ।
