भद्रपुर, १४ मंसिर–भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज कमल गाउँपालिकाका खेलाडीले रेफ्री कुटेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा बिहीबारको कमल गाउँपालिका र अर्जुनधारा गाउँपालिकाबीच भएको खेलमा विवाद हुँदा खेलाडीले रेफ्री कुटेका हुन् । खेलको ६५औं मिनेटमा रेफ्री डिकबहादुर श्रेष्ठले अर्जुनधारा नगरपालिकालाई पेनाल्टी दिएका थिए ।
उक्त निर्णयमा आपत्ति जनाउँदै कमलका कप्तान लक्ष्मण बेघाले रेफ्री श्रेष्ठमाथि हातपात गरे । खेलको नियमअनुसार रेफ्री श्रेष्ठले कप्तान बेघालाई रातो कार्ड देखाए । त्यसपछि कमलका गोलरक्षक उत्तम कार्की, खेलाडी सुगम राई, प्रशिक्षक चित्रमान राईसहित बेन्चमा रहेका अरू खेलाडीहरुले समेत रेफ्री श्रेष्ठमाथि हातपात गरे ।
उनीहरूलाई समेत रेफ्री श्रेष्ठले रातो कार्ड देखाएका थिए । त्यसपछि आयोजकले सम्झाउँदा समेत कमलले खेल नै छाडेको आयोजक भद्रपुर झापा गोल्डकपले जनाएको छ । आफूमाथि हातपात भएपछि रेफ्री श्रेष्ठले आयोजक समक्ष कारबाहीका लागि निवेदन दिएका थिए ।
कमलले खेल नै बहिस्कार गरेपछि आयोजक भद्रपुर गोल्डकपले बाँकी खेल नै खेल्न नदिने गरी निस्कासन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
