दुधे, १३ मंसिर–झापाको शिबसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज (बिहीबार) साँझ ६ ५० बजेको समयमा पूर्वबाट पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–१० मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेको पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पैदल यात्रीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, मोटरसाइकल चालक कमल गाउँपालिका–१ बस्ने सागर तामाङको हातमा चोट लागेको थियो । उनलाई स्थानीय शिवम मेडिकलमा उपचार गराई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
