काठमाडौँ, १८ मंसिर—नारायणगोपाल संगीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई दिने भएको छ ।

कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसंगीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसंगीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिने निर्णय गरेको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा संगीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा संगीत पनि दिएकी छिन् । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ ।

२० को दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् । यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *