झापा, १४ माघ–झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । फेला परेका नयाँ कुष्ठरोगीमध्ये दुई जना बालबालिकासमेत रहेका छन् ।

झापाको दक्षिणी ग्रामीण क्षेत्रमा कुष्ठरोगीको संख्य अधिक रहेको छ भने बाक्लो जनघनत्व भएको स्थानमा समेत कुष्ठरोगी रहेका छन् । जिल्लाको १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिका सबैभन्दा बढी कुष्ठरोगी रहेको पालिका हो । त्यसपछि बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा धेरै कुष्ठरोगी रहेका छन् । अन्य पालिकामा छिटपुट रुपमा कुष्ठरोगी रहेको कार्यालयले जनाएको छ ।

पछिल्लामा केही वर्षमा जिल्लामा कुष्ठरोगीको संख्या क्रमशः बढ्दै गएको छ । आव २०७८÷०७९ मा एक सय २१ जना नयाँ कुष्ठरोगी फेला परेकोमा आव २०७९÷०८० मा एक सय ५७ जना नयाँ कुष्ठरोगी भेटिएका थिए ।

आव २०७९÷०८० मा एक सय ५७ जना नयाँ कुष्ठरोगी फेला परेकामध्ये कचनकवलमा सबैभन्दा धेरै २४ जना, बिर्तामोड १९ र दमक १८ जना रहेका थिए भने सबैभन्दा कम कनकाई नगरपालिकामा तीन जना रहेका थिए ।

कम किटाणु भएको र बढी किटाणु भएको दुई प्रकारको कुष्ठरोगमध्ये जिल्लामा धेरै किटाणु भएको कुष्ठरोगीको संख्या अधिक देखिएको फोकल पर्सन दासले बताउनुभयो । कुष्ठरोगको लक्षण देखिन दुई वर्षदेखि पाँच वर्ष लाग्ने भएको निदानमा समस्या रहेको उहाँको भनाइ छ ।

जिल्लामा कुष्ठरोग रोगथामका लागि बिरामी देखिएको वरपरका घरहरुलाई समेत एक डोज औषधि सेवन अभियान सञ्चालन भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *