बिर्तामोड, १२ फागुन–झापामा अटिजम भएका बालबालिकाका अभिभावकहरु संगठित हुन शुरु गरेका छन् । बिर्तामोडमा शनिबार (आज) भएको भेलाले अटिजम केयर नेटवर्क नामक प्रस्तावित संस्था गठन गर्ने निर्णय गरेको हो । भेलाले कुमार चुँडालको अध्यक्षतामा तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सुष्मा कटुवाल, सचिव भिम बोहोरा र कोषाध्यक्षमा माया प्रसाई चयन भएका छन् ।

पुष्प खड्का, मन्दिरा उप्रेती, रुबि कामत, मिना लिङ्देन, किरण पौडेल र प्रतिक्षा रेग्मी सदस्य रहेका छन् । भेलाबाट पुष्प खड्काको संयोजकत्वमा रञ्जु दाहाल र सृजना राई रहेको विधान मस्यौदा समितिसमेत गठन गरेको छ ।

२०७४ सालदेखि नै झापामा अटिजम भएका बालबालिकाहरुको हेरचाह, बानी व्यवहारमा सुधार, जीवन उपयोगी सिप लगायत उनीहरुलाई आवश्यक पर्ने थेरापीका बिषयमा सामाजिक संघसंस्था तथा पालिकाहरुसँगको सहकार्यमा कार्यक्रम गर्दै आएको भएतापनि अटिजम भएका बालबालिकाको संख्या दैनिक वृद्धि भइरहेकाले अभिभावकहरु संगठित भएको तदर्थ समितिका अध्यक्ष चुँडालले जानकारी दिए । संस्थाले अटिजम भएका बालबालिकाहरुको आधारभूत आवश्यकता र अधिकारको परिपूर्तीका लागि काम गर्ने उद्धेश्य रहेको उनले बताए ।

अटिजम भएका बालबालिकाहरुका लागि जीवनभर सपोर्ट आवश्यक हुने भएकाले उनीहरुको उचित व्यवस्थापनमा ठोस काम गर्ने उद्धेश्यले अभिभावकहरु संगठित भएका हुन् ।

पछिल्लो समय न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अटिजम भएका बालबालिकाहरुका लागि प्यारेन्ट चाइल्ड तालिम सञ्चालन गरिरहेको छ भने बिर्तामोड ३ को महेन्द्र रत्न मावि र दमक ९ को सरस्वती माविमा अटिजम स्रोत कक्षाका लागि थेरापी, शैक्षिक र खेलकुदका सामाग्री साथै भौतिक निर्माणमा सहयोग गरेको छ ।

अटिजम बिषयको एक बर्षे डिप्लोमा कोर्ष अध्ययनका लागि छात्रवृत्तिमा पढ्न ललितपुरको हरिसिद्धीस्थित अटिजम केयर नेपाल सोसाइटीमा पठाएको एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *