काठमाडौं, १९ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ।
वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिन लागेको जानकारी दिएका हुन्। रकम सोमबारभित्र खेलाडीको खातामा पठाउने प्रतिबद्धता उनले जनाए।
उनले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारीस्वरूप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको प्रतिक्रिया दिए। नेम्वाङले कार्यक्रम, लगानी र योजना हुँदा २०२७ र २०३१ मा महिला विश्वकप खेल्न सक्ने प्रमाणित गरेको बताए।
‘२०२७ र २०३१ मा महिला विश्वकपमा हामीले सहभागिता जनाउने भनेका छौँ। तयारीस्वरुप वाफमा सहभागिता जनाएका हौँ’, उनले भने, ‘यो सहभागिताले महिला फुटबलमा कार्यक्रम, लगानी र योजना हुँदा २०२७ र २०३१ मा हामी महिला विश्वकप खेल्न सक्छौँ भन्ने प्रमाणित गरेको छ।’
अध्यक्षनेम्वाङले महिला टिमको यो उपलब्धिमा एन्फा खुशी भएको प्रतिक्रिया दिए।

