काठमाडौं, २१ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमरेसम्म देशमा उथलपुथल भइ नै रहने बताएका छन्।
सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बन्नुलाई निरन्तरताको क्रमभंगता भएको टिप्पणी गरे।
‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ। मलाई घेरा हालेर सिध्याउने धेरै पटक प्रयत्नहरु भए प्रतिक्रियावादीबाट’ प्रचण्डले भने, ‘घेरा तोड्दै आएका छौं, तोड्दै जान्छौं।’
माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेको पोखरीजस्तो नभएको उनको टिप्पणी छ।
‘हामी निरन्तरतामा रमाएर बस्न सक्दैनौं। निरन्तरतामा क्रमभंग गर्दै अघि बढ्ने जात हो माओवादी’ नयाँ गठबन्धनप्रति संकेत गर्दै प्रचण्डले भने, ‘आज सुखानीमा सहादत प्राप्त गरेको दिन, आज फेरि निरन्तरतामा क्रमभंगता भएको छ। यो सानो कुरा होइन धेरै ठूले कुरा छ, यसलाई बुझ्न जरूरी छ।’
उनले सबै क्रान्तिकारी एक ठाउँमा आउन ढिला भइसकेको पनि बताए।

