दमक, २६ फागुन–नेकपा (एमाले) झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति एक महिना अघि सारेको हो। आठौँ बैठकले जिल्ला अधिवेशन २०८१ वैशाख १४ र १५ गते का लागि निर्धारण गरेको थियो।

वैशाख १५ गते छिमेकी जिल्ला इलामको क्षेत्र नम्बर २ मा संघीय उपनिर्वाचन हुने भएकाले पार्टीको प्रदेश कमिटीले जिल्ला अधिवेशन चैतभित्र मै गरिसक्न निर्देशन गरेको हो।

पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटीका सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा जिल्ला पार्टी कार्यालयमा बैठक बसेको हो। बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न एक दर्जन हाराहारी उपसमितिहरू पनि गठन गरेको छ।

पार्टी जिल्ला कमिटीका सदस्य, प्रचार तथा प्रकाशन विभागका प्रमुख गोपाल काफ्लेले दिएको जानकारी अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधिको छनोट तयारी गर्न यही चैत १ गते १५ वटै पालिकाको विस्तारित बैठक र चैत्र ३ गते जिल्लाका १३१ वटै वडामा वडाको विस्तारित बैठकका लागि सम्बन्धित कमिटीलाई जिल्लाले निर्देशन गरेको छ ।

आजको बैठकले जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गर्न सङ्ख्या पनि निर्धारण गरेको छ। जस अनुसार ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व १५ प्रतिशत हुनेगरी कायम गरिएको छ भने महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत सुनिश्चित गरिएको छ।

अधिवेशनमा सबै जनसंगठनबाट ३र३ जनाको प्रतिनिधित्व रहनेछ भने मजदुर तथा दलितको लागि सर्कुलरमार्फत सार्वजनिक गरिने विभागका प्रमुख काफ्लेले जनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *