काठमाडौँ, २९ फागुन—नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य टुंगो लागेको छ । विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको हो । प्रतियुनिट ८ देखि ९ रुपैयाँमा बिजुली बेच्ने समझदारी बनेको हो । औपचारिक सम्झौता भने हुन बाँकी छ ।

बंगलादेशसँग बिजुली बेच्ने सम्बन्धमा ब्रेक थ्रु भएको ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनाए । यो समझदारीसँगै तेस्रो मुलुकमा बिजुली निर्यातको बाटोसमेत खुलेको उनको भनाइ छ । ‘औपचारिक रूपमा सम्झौता भने भइसकेको छैन,’ उनले भने, ‘भारत, बंगलादेश र नेपालसहितको ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौता गर्ने सोचेका छौं ।’ सचिव सिग्देलले भारतलाई बेचेको मूल्यभन्दा कम नहुने गरी मूल्य तय भएको बताए । नेपालले मध्यकालीन सम्झौताअनुसार प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसामा भारतलाई बिजुली बिक्री गर्दै आएको छ ।

बंगलादेशसँग बिजुलीको मूल्यमा छलफलका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसहितको टोली यही फागुन ९ मा बंगलादेश गएको थियो । प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र ९बिड० मूल्यांकन समितिबीच फागुन १० मा ढाकामा वार्ता भएको थियो । वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन । भारतलाई बेचेकोभन्दा कम मूल्यमा नदिने अडान राखेपछि नेपालले प्रस्ताव गरेको मूल्यमै बिजुली खरिद हुने भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले ५ वर्षका लागि सम्झौता हुन लागेको बताए । ‘प्रतियुनिट ८ देखि ९ रुपैयाँको बीचमा मूल्य टुंगिएको छ,’ उनले भने ।

नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ । हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यातको प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क बंगलादेशले नै तिर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ ।

भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीएनएन० लाई तिर्ने शुल्क र करिब ३ प्रतिशत चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो । बंगलादेशले सेवा प्रदायकका रूपमा भारतको एनभीएनएनमार्फत नेपालबाट बिजुली आयात गर्नेछ । अहिले पनि एनभीएनएनले बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिजुली बिक्री गर्दै आएको छ ।

सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आन्तरिक खपत १३ हजार, भारतमा १० हजार र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । हालै भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतासमेत भइसकेको छ । बंगलादेशले नेपालमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गरी त्यसको बिजुली पनि लैजान चाहेको छ । जेठ पहिलो साता भएको नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा दुवै देश मिलेर यो आयोजना निर्माण गर्ने सहमति भएको थियो ।

भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने ५ सय मेगावाट बिजुली पनि बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । गत वर्षको भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो ।

त्यतिबेला बंगलादेशको भेरामारामा रहेको उच्च क्षमताको डेडिकेटेड प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिदबिक्री सम्झौताका लागि भारतलाई आग्रह गर्ने सहमति भएको थियो । बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच सम्झौताको प्रक्रिया अघि बढिसकेको ऊर्जा सचिव सिग्देलले बताए । ‘भारतीय ग्रिड प्रयोग गर्ने विषयमा पहिलेदेखि सहमति भइसकेको छ, त्यसको चार्ज बंगलादेशले तिर्नेछ,’ उनले भने ।

बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने जनाएको बंगलादेशको राष्ट्रिय दैनिक पत्रिका ‘डेली अब्जर्भर’मा उल्लेख छ । केही दिनअघि बंगलादेशस्थित भारतीय उच्च आयोगका अधिकारीसँगको भेटमा ऊर्जामन्त्री हमिदले नेपाल र भुटानबाट विद्युत् आयात गर्ने प्रक्रियामा राम्रो प्रगति भएको बताएका थिए ।

भेटमा मन्त्री हमिदले छिटै नेपालसँग ४० मेगावाट विद्युत् खरिदका लागि सम्झौता हुने बताएको समेत पत्रिकाले लेखेको छ । भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको उनको भनाइ छ । साथै नेपालदेखि बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइन निर्माण भए विद्युत् व्यापारले गति लिनेसमेत उनले जनाएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *