फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं, ३ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने दाबी गरेका छन्।

बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा एकीकृत समाजवादील अझै एक मन्त्रालय पाउने बताएका हुन्।

‘आ(आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन्। हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ। दुइटा पठाएको छ। अर्को पनि हामी समयक्रममा पठाउनेछौं,’ उनले भने।

गठबन्धनमा भने उनको पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो। सो अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री छन्।

अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए। सँगै राजनीतिक नियुक्तिमा पनि आफ्ना मान्छेहरू पठाइने उनले बताए।

‘त्यस्ता ठाउँहरूमा जहाँ राजनीतिक नियुक्ति गर्नुपर्ने हुन्छ। त्यहाँ योग्य र सक्षम मान्छेहरू हाम्रा पनि छन् भने त्यसप्रति कुनै पूर्वाग्रह नराखी सकारात्मक सोच राखेर उनीहरूले पनि अवसर पाउनुपर्छ,’ उनले भने।

एकीकृत समाजवादीले पठाएका मन्त्रीहरूले राम्रो काम गरेर देखाउनुपर्ने पनि अध्यक्ष नेपालले बताए।

‘हाम्रा मन्त्रीहरूको सबैभन्दा पहिले व्यवहार राम्रो हुनुपर्छ। सक्दो सेवा गर्न अग्रसरता लिनुपर्छ। जति गर्दा पनि सम्भव हुँदैन, पार नै लाग्दैन र कानुनी हिसाब तथा त्यहाँको परिवेशले गर्दा मिल्दैन भने मन्त्रीलाई दोष दिएर हुँदैन,’ उनले भने, ‘उसको सीमा हुन्छ। सबैको सिमा हुन्छ। नियम कानुन मिचेर कसैले पनि काम लगाउनुहुँदैन।’

नियम कानुन विधिअन्तर्गत बसेर इमानदारिताका साथ राम्रो काम गरेर एकीकृत समाजवादीले जनताको मन जित्नुपर्ने उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *