दमक, ८ चैत–दमकमा मुख्य कार्यालय र कनकाई नगरपालिकाको सुरुङ्गामा सेवा केन्द्र रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) सुरुङ्गामा १५औं स्थापना दिवस मनाएको छ । सुरुङ्गास्थित जेसीज भवनमा आयोजित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५औं स्थापना दिवसमा सेवा केन्द्र अन्तर्गत सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा र कनकाई नगरपालिका वडा नं ३ का अध्यक्ष युवराज चौलागाईको प्रमुख आतिथ्यतामा १५औं स्थापना दिवस मनाइएको हो । सो अवसरमा स्वर्णलक्ष्मी साकोसको सुरुङ्गा सेवा केन्द्रमा कारोबार गर्ने सदस्यहरुबाट उत्कृष्ट कारोबार गर्ने चेतनकुमार प्रसाई, धनकुमारी प्रधान, निरोज सुवेदी, अनिता अग्रवाल र ऋषिकेश मैनालीलाई सम्मान गरेको छ ।
त्यस्तैं, स्वर्णलक्ष्मी साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत कनकाई नगरपालिका वडा नं ३ मा अवस्थित जनचेतन आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार ३० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । त्यस्तैं, १५औं स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । दमकस्थित आमा डेन्टल अस्पतालको प्राविधिक सहयोगमा भएको दन्त परीक्षण शिविरमा ६० जना सदस्यले सेवा लिएका छन् ।
कार्यक्रममा स्वर्णलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत कमल घिमिरेले सुरुङ्गास्थित सेवा केन्द्रका सदस्यहरुलाई सहकारी सदस्य शिक्षा सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।
सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य भरतकुमार ढकालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चौलागाई, कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, भगवती बचत तथा ऋण सहकारी संस्थाका खेम प्रसाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
झापा र मोरङमा गरी चारवटा सेवा केन्द्रहरु सञ्चालनमा आउको स्वर्णलक्ष्मी साकोसले यसअघि, मोरङको उर्लाबारीस्थित सेवा केन्द्रमा १५औं स्थापाना दिवस मनाइएको छ ।
आज सुरुङ्गा सेवा केन्द्रमा स्थापना दिवस सम्पन्न भएको छ भने भोली (शुक्रबार) शिबसताक्षी नगरपालिकाको झिलझले सेवा केन्द्रमा र शनिबार गौरादहस्थित सेवा केन्द्रमा स्थापना दिवस मनाइने कार्यक्रम छ । त्यस्तैं, चैत ११ गते दमकस्थित सहकारी संस्थाको मूख्य कार्यालयमा स्थापना दिवस धुमधामका साथ मनाइने भएको छ ।
