भद्रपुर, ८ चैत–अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । समाजले अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरेपछि बिरामीहरुलाई फलफूल वितरण गरेको थियो ।
समाजकी भद्रपुर अध्यक्ष दुर्गा पोर्तेलको अध्यक्षतामा आायेजित कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य टिकाराम मग्रातीले समाजमा कतै–कतै अझै पनि जातीय विभेद र रंगभेद हुने गरेको भन्दै पूर्णरुपमा उन्मूलनका लागि सबै एकजुट हुनुपर्ने बताए ।
समाजका केन्द्रीय सल्लाहकार घनश्याम लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रामबाबु खड्काले दिवसलाई रचनात्मक ढंगबाट बनाउने मुक्ति समाजको कार्यको प्रशंसा गर्दै अस्पतालका बिरामीलाई फलफूल वितरण गरेकोमा समाजलाई धन्यवाद दिएका थिए ।
