दमक, १३ चैत–झापाका पुराना बामपन्थी नेता इन्द्रबहादुर बुढाथोकी दुई साता अघिदेखि उपचारत हुनुहुन्छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि हाल बुढाथोकीको काठमाण्डौंस्थित गंगालाल हृद्धय केन्द्र अस्पतालमा उपचारत हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार सदस्य बुढाथोकी दमकका पूर्व नगर प्रमुख हुनुहुन्छ । एकीकृत समाजवादी झापाका पूर्वइन्चार्ज बुढाथोकीले स्वास्थ्यको कारण देखाउँदै इन्चार्जबाट बिदा लिएर सल्लाहकार कमिटीको जिम्मेवारीमा हुनुहुन्छ ।
दमक–५ हरिओम कोलनीमा बसोबास गरिरहनुभएका नेता बुढाथोकीको स्वास्थ्य अवस्था बारेमा जानकारी लिन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार अस्पतालमा पुग्नुभएको छ । सो क्रममा अध्यक्ष नेपालले त्यहाँ उपचारत नेता बुढाथोकीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेकाअनुसार अध्यक्ष नेपालले बुढाथोकीको उपचारमा संलग्न चिकित्सकसँग परामर्शसमेत लिनु भएको छ।
नेता घिमिरेले भन्नुभयो, ‘उपचारमा संलग्न डा.चन्द्रमणी अधिकारीले बुढाथोकीको स्वास्थ्य सुधारोन्मुख भएको जानकारी दिनु भएको छ। पार्टी अध्यक्ष कमरेडले बुढाथोकीको उपचारमा संलग्न चिकित्सकसँग अहिलेको अवस्थाका बारेमा जानकारी लिनु भएको छ। शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। मुटुमा समस्या देखिएपछि केही हप्तादेखि इन्द्र कमरेड उपचारत हुनुहुन्छ।’
पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, केन्द्रीय सदस्य घिमिरेलगायतका नेताहरू बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न गंगालाल हृदय केन्द्र बाँसबारी पुग्नुभएको थियो।
