पत्रकार अम्बिका भण्डारी

मेचीनगर, १६ चैत–मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ । शुक्रवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो ।

यही चैत २१ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा हुने संघको १९ औँ वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई सम्मान गरिने संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए । पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ ।

पत्रकार भण्डारी दुई दशकदेखि झापाको पत्रकारितामा सक्रिय छिन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी संस्थापक कोषाध्यक्ष, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष समेत हुन् ।

वैठकमा पत्रकार छनोट समितिका संयोजक खेम प्रसाई तथा सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साहित्यकार मिलनकुमार ढुंगाना, कार्यकारी निर्देशक गोपाल वस्नेत र प्रेस सल्लाहकार अर्जुन कार्कीको उपस्थिति रहेका थियो ।

संघले यसअघि उक्त पुरस्कार पत्रकार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले र मुक्ति पौडेललाई प्रदान गरिसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *