इलाम, २४ चैत–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्ती झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गगर्नु भएको छ।
शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताउनु भयो। खनालले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वानसमेत गर्नुभयो। उहाँले नेपालको राष्ट्रिय राजनीति अल्मलिएको बताउँदै पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गर्नुभयो। नेता खनालले अहिले विचार मिल्नेहरुको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताउनु भयो।
खनालले भन्नुभयो, ‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो। दिशाहिन हुने हो कि के होरुभन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो। पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ। अहिले हामी अलग अलग हिँडौँ, प्रतिस्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसाबले अहिले यसमै सहमति गरेका हौँ। यो प्रतिष्पर्धाको सहमति हो।’
उहाँले इलाममा आफूहरुको उम्मेदवारी फिर्ता नहुने समेत स्पष्ट पार्नुभयो। ‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ। इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’ उहाँले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताउनु भयो।

