धरमपुर,, २ बैशाख–झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित स्थानीय आदिबासी समुदायले आज सिरुवा पर्व धुमधामका साथ मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगी बजारमा आइतबार विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा मनाएका हुन् ।

नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते काद (हिला) सिरुवा र ३ गते रङ सिरुवा मनाउने धार्मिक प्रचलन छ । हिजो पानी सिरुवा मनाएका आदिवासी समुदायले आज काद सिरुवा धुमधामका साथ मनाएका छन् । भोलि रङ खेल्दै सिरुवाको विधिवत रुपमा समापन गर्ने छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पहिले घर घरमा मनाइदै आएको सिरुवा पर्व समुदायमा रहेर एक आपसमा भइचारा कायम गर्दै हर्ष उल्लासका साथ मनाएर हाम्रो संंस्कृतिका जगेर्ना लागि खेल्नु भएको भूमिका सराहनीय रहेको बताए । नेपाल रहेको बहुधर्म,बहु सांस्कृति देश भएकाले सबै जातजातिका संस्कृति हामी सबैको सम्पत्ती हो । उनले भने, भोली सिरुवा पर्वको अवसरमा शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका, शिवसताक्षीको ७ नंं वडा कार्यालय सहित समाजमा योगदान पुर्याउने र कार्यक्रमका लागि सहयोग गर्ने १० जना बढी दाताहरुलाई सम्मान गरिएको आयोजक घाटोसरी काद सिरुवा उपभोक्ता समिति चन्द्रडाँगीका अध्यक्ष सुरेसप्रसाद राजवंशीले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय गायक बलराम राजवंशीले गीत प्रस्तुत गर्दै सबैलाई नचाएका थिए ।
आदिबासी समुदायले चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ। सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा अर्चना गर्ने समेत चलन छ।

यस्तो छ सिरूवा पर्वको सांस्कृतिक महत्त्व

सिरुवा पावनी ९नयाँ वर्ष० तराईमा बस्ने आदिवासी समुदायमध्ये विशेषगरी थारु, राजवंशी, ताजपुरिया, गनगाई, माझी लगायतले मनाउने सबैभन्दा ठूलो चाड हो। यो पर्व नयाँ वर्षमा बंगला पात्रोअनुसार खास गरी तीन दिनसम्म वैशाख १, २ र ३ गते मनाउने चलन छ। पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद ९हिलो० सिरुवा र अन्तिम दिन रङ सिरुवा खेल्ने चलन छ।

सिरुवा पर्वमा कुल देवता, ग्राम देवता अलावा महिला वर्गले घाट सरी पूजा गर्ने चलन छ। सिरुवा पर्वको समयमा झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँहरूमा मेला लाग्ने परम्परा छ। सिरुवा पर्वमा पानी सिरुवा, काद ९हिलो० सिरुवा, रङ सिरुवाको अलावा घाट सरी, भादाखेली जस्तै अरू पूजाहरू महत्त्वपूर्ण हुने गर्दछन्।

वैशाखको पहिलो दिन बङ्गला पात्रोअनुसार अन्तिम चैत्रमा आफूभन्दा साना केटाकेटीहरूको टाउकोमा पानी दिएर, ठूलाबडाहरूका पाउमा भक्ति भावले पानी हालेर र साथीभाइसँग एक आपसमा पानी छ्यापाछ्याप गरी वर्षभरिका लागि शरीरलाई ठन्डा, शीतलता मिलोस भनी आशीर्वाद लिने र कामना गरिन्छ ।

साथै उक्त दिन पानी खेलेर आफ्ना शरीरलाई पवित्र गरिन्छ। धामीहरू जङ्गल गएर जडीबुटी खोजी जडीबुटीका बिरुवा जगाउँछन्। मानिसहरू घरमा लसुन प्याज बाँधी झुन्डयाउँछन, मइनाको काँडा, मदारको काँडा, विर्तिको काँडा घरको पछाडि गुन्जी राख्छन ।

यो दिन महिलाहरू साँझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउँछन्। यो दिनलाई महा विसुवा सङ्क्रान्ति भन्ने गरिन्छ।

सिरुवा पर्वको दोस्रो दिन काद सिरुवा हो। मानिसहरू विसुवाको राति ९अन्तिम चैतको राति० पकाएको भातलाई पानी हाली पन्ता बनाएर खान्छन् । त्यसैले भनिन्छ, ‟चैतमा पकाएको वैशाखमा खाने”। यसै दिनबाट पन्ता भात खान सुरु गरिन्छ ।

यो दिनदेखि हाम्रो समाजका नारीहरू घाट सरी पूजाका रुपमा तिस्ताबुढी नदीमा गई सेलाउँछन्। किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानि (देवी) साथीहरूसँग मिली ठाकुर (देउता) लाई खोज्दै जाँदा वस्त्रविहीन हिलो माटो लेपिएको अवस्थामा भेटाउँछन र सङ्गीहरू आपसमा कानेखुसी गदै हाँस्छन् अनि ठाक्रानि (देवी) ले तिस्ताबुढीको रूप धारण गरी सङ्गीहरूलाई हिलो माटो लगाइदिन्छिन । त्यसैले यो दिनमा सबै मानिस आपसमा हिलो खेल्ने खेल्दै काद सिरुवा मनाउँछन ।

यो दिनको स्मरणमा नारीहरू नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाँटोसरि पूजा सकेर फर्कन्छन। अनि घाटबाट फर्कने समयमा छाताको पानी गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन्।

यो दिनमा खास गरी घरका देवीदेवताहरूको पूजा गर्ने गरिन्छ। त्यस्तै सिरुवा पावनीको अन्तिम दिन रङ सिरुवा मनाइन्छ । उक्त दिन सबै मानिस एक आपसमा रङ खेलेर पर्व मनाउने गर्छन्। विगतमा भएका रिसरागहरु सबै भुलेर खुसी र हर्षोल्लास उल्लासका साथ खुसी साटासाट गर्न यो दिनमा विभिन्न किसिमका रङ खेल्ने गरिन्छ। जीवन रङहरूले भरिएजस्तै रङीचङ्गी होस भन्ने कामनाका साथ रङ सिरुवा खेल्ने गरिन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *