काठमाडौँ, १३ वैशाख–सुरक्षा घेराामा काठमाडौँका तीन सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ । सुरक्षा घेरामा काठमाडौँ महानगरपालिका( ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका सुकुम्बासी बस्ती शनिबार हटाइएका हुन् ।
आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
सुकुम्बासी बस्तीका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले काम छिटो सम्पन्न भएको थियो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरको सङ्ख्या बढी भएकाले भत्काउने काम राति अबेर मात्र सकिएको थियो । सरकारको निर्देशनअनुसार संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभरि प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेको थियो । त्यसपछि मात्र डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको थियो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार राजधानीका विभिन्न अतिक्रमित क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए । प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा एक सय ४३, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा चार सय ७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन् ।
मनोहरामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार डोजर प्रयोग गरी हटाइँदै । तस्बिरः किरणराज विष्टर रासस
प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्यत्र जाने ठाउँ नभएका तथा आफैं आवासको व्यवस्था गर्न नसकेका परिवारको विवरण संकलन गर्न सुरुमा दशरथ रंगशालामा लगेको छ । त्यहाँ विवरण टिपेपछि उनीहरूलाई विभिन्न पाँच वटा ‘होल्डिङ सेन्टर’ मा बस्ने व्यवस्था गरिएको छ ।
पुगे रंगशाला २१९ परिवारका ९९७ जना सुकुम्बासी
यस क्रममा अहिलेसम्म रंगशालामा पुगेका २१९ परिवारका ९९७ जना व्यक्ति रहेको जनाइएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण संकलन गरेका छन् ।
सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो । यद्यपि, बस्ती हटाउने कामसँगै प्रभावित परिवारको पुनःस्थापना तथा व्यवस्थापनका विषयमा विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ । सरोकार भएका निकायले दीर्घकालीन समाधानका लागि व्यवस्थित बसोबासको विकल्प उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।
थापाथली क्षेत्रमा डोजर लगाइदै
यसैबीच, बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभए पनि भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए ।
आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना गरी २२ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए ।
