विर्तामोड, ५ बैशाख–नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तोकेको प्रतिनिधि तथा जिल्ला निर्वाचन समितिका संयोजक निर्मला कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिले महेन्द्ररत्न माध्यमिक विद्यालयमा आज नयाँ समिति घोषणा गरेको हो ।

महासंघले निर्धारण गरेको आचारसंहिता र कार्यविधि अनुसार विभिन्न शिक्षक घटकहरुबाट नयाँ समिति गठन गरिएको निर्वाचन समितिकी संयोजक कोइरालाले बताइन् । उनले फागुन २२ गते जिल्लाका १५ वटै पालिकामा महासंघको एकाइ गठन भइसकेको र यही बैशाख १० गतेदेखि काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले सबै शिक्षक संघ संगठनसंगको सल्लाहमा महासंघको जिल्ला नेतृत्व गठन गरिएको जानकारी दिइन् ।

महासंघको जिल्ला नेतृत्व चयन भएपनि सबै संगठनहरुले नाम नदिएका कारण समितिले पूर्णता पाइसकेको छैन । हालसम्म सहअध्यक्षमा विश्वनाथ राजवंशी, सहसचिवमा टिकाराम खवास, सहसचिव (महिला) शारदा प्रसाई पाठक तथा सदस्यहरुमा रत्नबहादुर कटुवाल, मित्र खनाल, साहिद हुसैन, कुमारी उषा अधिकारी, सोमनाथ गुरागाँई र प्रकाशचन्द्र गौतम चयन भएका छन् ।

त्यस्तै, संस्थागत सहसचिवमा राजेन्द्रप्रसाद प्रसाई र विष्णुप्रसाद भट्टराई रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा महेन्द्र विलास लुइटेल, धर्मानन्द निरौला, हरि सुवेदी, इन्दिरा कँडेल चुडाल, सरिता चेम्जोङ, प्रदेश महाधिवेशन प्रतिनिधिमा लेखनाथ पौडेल, हरि पोखरेल, जीतलाल चौधरी, गोृविन्द काफ्ले, क्ष्मण राजवंशी र गीतासरी राजवंशी चयन भएका छन् ।

निर्वाचन समिति संयोजक निर्मला कोइरालाको अध्यक्षता तथा शिक्षक महासंघको राष्ट्रिय समितिका पदेन सदस्य रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक परिषदका अध्यक्ष टंक कटुवाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, संघीय शिक्षक फोरमका अध्यक्ष सिताराम यादव, नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष चन्द्र प्रसाईले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष द्रोणबहादुर श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित रहेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले प्रतिवद्धता मन्तव्य राखेका थिए । रविन्द्र मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *