१५ वैशाखमा इलाम– २ मा हुने उपचुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवार घरदैलो अभियानमा छन् । उपचुनावबाट निर्वाचित हुने सांसदको कार्यकाल भने करिब साढे तीन वर्ष हुनेछ । तिनै उम्मेदवारहरूका चुनावी एजेन्डालगायतका विषयमा केन्द्रित रहेर ‘उम्मेदवारसँग पाँच प्रश्न’ शृङ्खला शिलापत्रले सुरु गरेको छ । यो शृङ्खलामा छन्, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जितबहादुर राई ।
तपाईंलाई मतदाताले किन भोट दिने ?
म इलामे जनताको माझमा लोकप्रिय उम्मेदवार हुँ । मैले यसअघि पाँच वर्ष माइजोगमाई गाउँपालिकाको स्थानीय सरकार सञ्चालन गरेको छु । सबैसँग समन्वयात्मक ढङ्गले गाउँपालिका सञ्चालन गरेँ । चार वर्षसम्म जिल्ला खेलकुद विकास समितिको सकुशल नेतृत्व पनि गरेँ । गाउँपालिका र जिल्ला खेलकुद विकास समिति सञ्चालन गर्दा कलङ्कित हुनु परेन । भ्रष्टाचारको दाग लागेन ।
अर्को कुरा, हरेक इलामवासीले मलाई चिन्छन् । इलामको माटोले मलाई चिन्छ । इलामको हरेक डाँडाकाँडासँग म परिचित उम्मेदवार हुँ । स्थानीय सरकार सञ्चालन गर्दा जनताका कस्ता खालका समस्या छन् ? समाधानका लागि के गर्नुपर्छ ? त्यसबारे मैले अनुभव प्राप्त गरेको छु । यस कारणले उपचुनावमा मलाई जनताले मत दिनुपर्छ ।
चुनावी अभियानमा हुनुहुन्छ, जित्ने सम्भावना कति छ ?
चुनाव जित्नेमा कुनै शङ्का छैन । हामी चुनाव जित्छौँ । यो दुई नम्बर क्षेत्रमा हाम्रो बलियो सङ्गठन छ । १५ सयभन्दा बढी पार्टी सदस्य छन् । अन्य पार्टीका मतदाताले पनि मलाई माया गरेका छन् । सहानुभूति र सद्भाव प्रकट गर्नुभएको छ । यस कारणले चुनाव जित्ने बलियो आधार तयार छ ।
स्थानीय तहको चुनावलाई आधार मान्दा तपाईंको पार्टी त कमजोर देखिन्छ, त्यसबेला एमाले–कांग्रेसले ३० हजारआसपास मत ल्याउँदा तपाईंहरूले २७७ मत पाउनुभएको थियो नि रु
त्यति होइन । साढे ५ सय मत हो र त्यसबेला हाम्रो उम्मेदवारी थिएन ।
एमाले, कांग्रेस, रास्वपा र पहिचान पक्षधर उम्मेदवारहरूलाई टक्कर दिन सक्नुहोला र ?
मज्जाले । अहिले सबै पार्टी टक्कर गर्न डराएकै एकीकृत समाजवादी र उम्मेदवार मसँग हो । डराएकै कारण एमाले, माओवादी र नेकपा गुजुल्टो परेका छन् । एकीकृत समाजवादीको चुनावी माहौल देखेपछि तर्सेर गुजुल्टो परेका हुन् । हाम्रो शक्ति एकदमै मजबुत छ । हिजो कांग्रेस, एमाले र माओवादीले लामो समय सत्ता सञ्चालन गर्दा सुन तस्करी, मानव तस्करी, निर्मला पन्तको हत्या, गिरिबन्धु टी–स्टेटसँगै ओम्नी काण्डलगायत ठूल्ठूला अपराध गरेकाले ती दलहरूको विरुद्धमा जनता छन् ।
तपाईंका चुनावी एजेन्डाहरू के–के हुन् ?
यस क्षेत्र (इलाम–२) मा देखिएको समस्या बाटोघाटोको हो । राम्रा सडकहरू छैनन् । बिजुली बत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य, धार्मिक–प्राकृतिक पर्यटन, कृषि, युवा स्वरोजगार, इन्टरनेटलगायतका समस्या छन् । यिनै जनसमस्याहरूलाई चुनावी एजेन्डा बनाएको छु ।