हिक्मत कार्की

विराटनगर, ३० बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् ।

२७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिस्कार गर्ने बताएको हो ।

काठमाडौंमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विश्वासको मत प्रक्रियालाई बहिस्कार गर्न निर्देशन दिएको निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बताए । उक्त बैठकमा निवर्तमान मुख्यमन्त्री केदार कार्की र प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशीको अवस्थाबारे नेताहरुलाई जानकारी गराएका थिए ।

कोशीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठक सोमबार विहान ८ बजे बस्दैछ । दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय गर्र्ने नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।

२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक९एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *