क्रिकेटर सन्दीप लामिछाने

काठमाण्डौं, २ जेठ–उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको छ।

यसअघि उनलाई गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। जिल्ला अदालतको आदेशसँगै उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

पाँच महिनापछि सफाइ पाएका सन्दीपले अब आगामी जेठ तेस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने क्रिकेटप्रेमीमाझ चासो छ।

सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी गरिरहेको क्यानका कोषाध्यक्ष पदम खड्काले बताए।

कोषाध्यक्ष खड्काले दुई-तीन दिनभित्र सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने बताए। सन्दीपको विषयमा एक-दुई दिनमा निर्णय गर्ने पनि उनको भनाइ छ।

आइसिसीले आगामी जेठ १२ गतेसम्म यसअघि घोषणा गरिएको टोलीमा परिवर्तन गर्न सहभागी टोलीलाई अनुमति दिएको छ। टोलीमा परिवर्तन गर्न चाहेमा आइसिसीको इभेन्ट टेक्निकल कमिटीबाट भने अनुमति प्राप्त गर्नु पर्नेछ।

आइसिसीले टोलीमा परिवर्तन गर्न अनुमति नदिएको अवस्थामा पनि क्यानले आफ्नै खर्चमा सन्दीपलाई अमेरिका पठाउने कोषाध्यक्ष खड्काले बताए।

अदालतको फैसला अनुसार निर्णय गर्ने विषयमा क्यानमा यसअघि नै छलफल भएको पनि उनले बताए। अहिले १६ जना खेलाडी अमेरिकामा हुने र कोही खेलाडी घाइते भए परिवर्तन हुने पनि उनले बताए।

सन्दीपले पछिल्लोपटक पुसमा वीरगन्जमा भएको प्रो क्लब च्याम्पियनसिपमा खेलेका थिए। प्रतियोगिताकै दौरान जिल्ला अदालतबाट दोषी भएपछि उनी क्रिकेट मैदानमा देखिएका थिएनन्।

हाल नेपाली टोली विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा छ। केही दिन सेन्ट भिसेन्टमा तयारी गरेपछि नेपाली टोली जेठ ७ मा अमेरिकाको टेक्सासमा फर्कनेछ। ह्युस्टमा पाँच दिन अभ्यास गरेपछि आइसिसी विश्वकपका वार्मअप खेल सुरू हुनेछन्।

नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्ने सार्वजनिक भए पनि पक्का भने भइसकेको छैन।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *