फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन्।

बिहीबार (हिजो) पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्‍यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ भनेर निर्णय पनि गर्‍यौँ ।’

अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए। ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रमाणका आधारमा चल्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा पनि सङ्कट खडा भएको भन्दै त्यसबारे नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टी फुटको पक्षमा नरहेको पनि बताए। ‘कम्युनिस्ट पार्टी एकताबद्ध भएर जानुपर्छ। अर्थात् हामी एकताको पक्षमा छौँ, फुट र विभाजनको पक्षमा छैनौँ’, नेपालको भनाइ छ।

उनले आफ्नो पार्टी विभाजन गर्न सजिलो नभएको पनि बताए। ‘हाम्रो पार्टी विभाजन गर्न सजिलो छैन। कसैले कुभलो चिताएको छ भने नचिताउन आग्रह मात्रै गर्न सक्दछौँ’, अध्यक्ष नेपालले पार्टी विभाजनको सूचना भए उपलब्ध गराउन पत्रकारहरूलाई आग्रह समेत गरे।

‘सूचना छ भने कृपया उपलब्ध गराउनुस् । हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौँ। आँखा चिम्लेर अस्वीकार पनि गर्दैनौँ’, नेपालको भनाई छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *