जनकपुरधाम, ५ जेठ–धनुषाको जनकपुरमा आज (शनिबार) बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा कारले मोटरसाइकलाई ठक्कर दिँदा जनकपुरमा बसेर पत्रकारिता गर्दै आएका धनुषा सहीदनगर– ८ का ३२ वर्षीय यादवको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उपेन्द्र खरेललका अनुसार पत्रकार यादव आफ्ना साथी जयनारायण यादवले चलाएको प्रदेश–२ –०२– ००२ प ५६९४ नम्बरको मोटरसाइकको पछाडि सवार थिए । ‘आज बिहान ३ बजे थापा चोकमा तीव्र गतिमा रहेको बा २१ च ३३४३ को कारले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा साढे ३ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि अहिले अस्पतालमै छ,’ इन्सपेक्टर खरेलले भने ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका जयनारायण यादव पनि गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि कार चालक धनुषा सहीद नगरकै मनोज साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार यादवले जनकपुरबाट राजधानी जनकपुर अनलाइन मिडिया चलाउँदै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर खरेलले बताएका छन् । यसअघि गएको वैशाख ११ गते धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरकै २८ वर्षीय पत्रकार विनयकुमार यादवको पनि मृत्यु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *