काठमाडौं, ६ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निःशर्त विश्वासको मत दिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन्।
पार्टी सम्बद्ध पेसागत महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विश्वासको मत दिने कुरामा शंका नगर्न आग्रह गरेका हुन्।
‘भोलि सरकारले विश्वासको मत लिने कुरा भएको छ। हामी यो सरकारमा सहभागी छौं। सरकारमा सहभागी मन्त्री हाम्रै नेता हुनुहुन्छ। हामीले विश्वासको मत नदिने त प्रश्नै उठ्दैन। यहाँ कसैले शंका–उपशंका नगरे हुन्छ है मिडियाका साथीहरू१ कुनै इफ, कुनै बट छैन। हाम्रो यो सरकारलाई विश्वासको मत हुनेछ,’ उनले भने।
अध्यक्ष नेपालले सुदूरपश्चिम र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाएको पनि चर्चा गरे। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारी छन्। यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि विश्वासको मत प्राप्त गरिसकेका छन्।
‘सुदूरपश्चिममा हाम्रो मुष्यमन्त्रीले विश्वासको मत पाउनु भएको छ। कोशीमा हामीले विश्वासको मत दिएका छौं। माग्न आए पनि नआए पनि दिएका छौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो।

