काठमाडौं, जेठ–नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघमा समानान्तर कमिटी गठन भएको छ।
संघका सहसंयोजक नितेश पौडेल समूहले शनिबार काठमाडौंमा समानान्तर भेला गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेका हुन्।
समानान्तर कमिटीमा पौडेल आफै संयोजक तोकिएका छन् भने सचिवमा फुर्वा तामाङ चयन भएका छन्।
आगामी असोज पहिलो साता महाधिवेशन गर्ने गरी आयोजक कमिटी गठन गरिएको समानान्तर कमिटीका संयोजक पौडेलले जानकारी दिए।
एकीकृत समाजवादीले गत भदौ ९ गते युवा संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो। सहसंयोजक पौडेललाई बनाइएको थियो।
त्यसपछि संगठन कब्जा गर्ने ध्येयले विक समूहले केन्द्रीय कमिटीमा रहेकाहरू हटाउने र महाधिवेशनमा आफू अनुकूलको वातावरण बनाउन भूमिका खेल्दै आएको पौडेल समूहले आरोप लगाएको छ।
युवा संघमा विवाद बढ्दै गएपछि पटक-पटक छलफल र समझदारी बनेको उक्त समूहका एक नेताले बताए।
‘गत असोज ११ गते पनि एउटा सहमति भएको थियो, जसमा १ हजार एक सय ८६ सदस्यीय केन्द्रीय कमिटी बनाउने, रौतहट र सर्लाहीको प्रतिनिधित्व छुटेकाले अरू जिल्लाकै अनुपातमा सदस्य थप गर्ने र पाँच सय एक सदस्यीय सचिवालय बनाउने समझदारी बनेको थियो,’ ती नेताले भने।
त्यतिबेला संगठन विभाग प्रमुख रहेका पौडेलले चार सय १८ सदस्यीय सचिवालयको सर्कुलर तल पठाएका थिए। त्यसमा थप गरेर पाँच सय एक पुर्याउने जिम्मेवारी विकले पाएका थिए।
तर त्यसमा उनी सहमत नभएको, कमिटी क्रियाशील बनाउने, महाधिवेशन गरेर युवा संघलाई व्यवस्थित बनाउने भन्दा पनि संगठन कब्जा गर्ने नीति लिएको असन्तुष्ट समूहले आरोप लगाएको छ।
पछिल्लो पटक विक र पौडेल पक्षबीच गत वैशाख १५ गते पनि सहमति भएको थियो।
उनीहरूबीच केन्द्रीय कमिटीको संख्या हाल १ हजार एक सय ८६ लाई आधार मान्दै संयोजक र सहसंयोजकले आपसी समझदारीमा ९० जना भन्दा नबढ्ने गरी संख्या थप गर्ने सहमति भएको थियो।
पार्टी तथा युवा संघ नेपालको जिम्मेवारीमा रहँदा रहँदै विदेश गएका, ४० वर्ष उमेर पुगेकाहरूलाई संगठनबाट बिदा गर्दा बाँकी हुने अन्तिम संख्या नै कमिटीको कुल संख्या कायम रहने सहमति पनि भएको थियो।
संघको केन्द्रीय संरचना तत्काललाई केन्द्रीय कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालय रहने सहमति भएको थियो।
सचिवालयको संख्या तीन सय सातलाई नै आधार मान्ने, उक्त संख्यामा पौडेल पक्षले एक सय १८ जना र विक पक्षले ९० जना थप गर्न पाउने सहमति भएको थियो।
४० वर्ष मुनिका तथा दोहोरो जिम्मेवारीमा नरहेका पूर्वपदाधिकारी रहने गरी कार्यालय कमिटीको गठन गर्ने, कार्यालयले दैनिक कार्यसम्पादनका साथै महाधिवेशनको तयारीका लागि गर्नु पर्ने निर्णयहरू पनि गर्ने समझदारी भएको थियो।
संघको राष्ट्रिय महाधिवेशनसम्म केन्द्रीय विभागहरुको गठन नगर्ने र बैठकका निर्णयहरू संयोजक र सहसंयोजक दुवैले प्रमाणित गर्ने सहझदारीअनुरूप नेतृत्व नचलेपछि बाध्य भएर कार्की बैंक्वेटमा भेला गरिएको पौडेलले बताए।
समानान्तर कमिटी घोषणा गरेपछि विक पक्षले पौडेल र कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ।
प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामा लगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको कार्यालय सदस्य सुशील भट्टराईले बताए।
संघका पूर्वउपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हस्त शाही समानान्तर भेलामा उपस्थित भएर कमिटी घोषणा गरेको भन्दै उनलाई पनि कारबाही गर्न केन्द्रीय कमिटीलाई आग्रह गरिएको भट्टराईले बताए।
विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालनिकट हुन्।
एकीकृत समाजवादीको महाधिवेशन नजिकिएका बेला भ्रातृ संस्था युवा संघमा विवाद देखा परेको छ। समानान्तर कमिटी घोषणा भएपछि पार्टीले आइतबारका लागि सचिवालय बैठक बोलाएको युवा संघका नेता सञ्जीव राईले बताए। बिहान ९ बजेदेखि सचिवालय बैठक जारी छ।
एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म १० औं महाधिवेशन काठमाडौंमा गर्दैछ।
