काठमाडौँ, २७ जेठ—भारतीय लोकसभाको चुनावी परिणाम पूर्ण रूपमा आई नसक्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले लगातार तेस्रो पटक चुनावी सफलता पाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । एनडीएको नेतृत्वमा सरकार बन्ने तय नहुँदै दाहालले हतारोमा बधाई दिएपछि राजनीतिक वृत्तमा टीकाटिप्पणी नै चल्यो ।
‘लोकसभा चुनावमा भाजपा र एनडीएको लगातार तेस्रो पटकको चुनावी सफलताका लागि प्रधानमन्त्री मोदीलाई बधाई छ,’ दाहालले गत मंगलबार एक्समार्फत दिएको बधाई वक्तव्यमा भनेका छन्, ‘भारतका जनताको उत्साहपूर्ण सहभागितामा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक प्रक्रिया सफल भएको देखेर हामी खुसी छौं ।’ दाहालले बधाई दिएको तीन दिनपछि मात्र मोदी भारतको प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त भए । भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी हुने ‘परम्परा’ लाई निरन्तर दिँदै उनी आइतबार नयाँदिल्ली जान लागेका हुन् । मोदीको निमन्त्रणामा हुन लागेको यस भ्रमण द्विदेशीय सम्बन्ध नवीकरणको अवसरका रूपमा हेरिएको छ । कांग्रेससँग गठबन्धन भत्काएपछि र वामपन्थी नेतृत्वमा नयाँ समीकरण बनेपछि उत्पन्न शंका मेटाउन दाहालका सामु यो अवसर पनि हो ।
गत फागुन तेस्रो साता एमाले–माओवादी सत्ता समीकरण बन्नुमा चीनको हात रहेको भारतीय सञ्चारमाध्यमको व्याख्या थियो । देशका दुई ठूला वामपन्थी दलको नेतृत्वमा नयाँ समीकरण बन्नुलाई भारतले पनि स्वाभाविक रूपमा नलिएको एमाले र माओवादीकै नेताहरूको भनाइ छ । प्रधानमन्त्री दाहालले भारतको औपचारिक भ्रमण गरेको एक वर्षपछि पुनः गर्न लागेका हुन् । दाहाल स्वयं उपस्थिति भएर मोदीलाई बधाई दिन भ्रमण केन्द्रित रहे पनि सम्बन्ध नवीकरणका साथै आफ्ना प्राथमिकता प्रस्तुत गर्ने मौका पनि भएको परराष्ट्र विज्ञ बताउँछन् ।
भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालका प्रधानमन्त्रीले आफ्नो चासो र महत्त्वका विषयलाई औपचारिकरअनौपचारिक संवादमा उठाउनुपर्नेमा जोड दिन्छन् । मोदीको शपथग्रहणमा जानुलाई अवसरका रूपमा लिएर द्विदेशीय सीमा विवाद समाधान, भारत र बंगलादेशसँग ऊर्जा व्यापारलगायत राष्ट्रिय महत्त्वका विषयमा कुराकानी गर्न सकिने उनको भनाइ छ । ‘नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री भइरहँदा उहाँलाई नेपालको चासो र महत्त्वबारे राम्ररी थाहा छ,’ उपाध्यायले थपे, ‘यस पटक हुने भेटवार्तामा सीमा विवाद समाधान तथा भारत र बंगलादेशसँग ऊर्जा व्यापार सहज हुनेबारे कुरा राख्ने मौका छ ।’ उनले भारत भ्रमणका बेला नेपाल नीति हेरिरहेका अन्य भारतीय उच्च अधिकारीसँग नेपालको हितमा पनि कुरा गर्न सकिने सुझाए ।
प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले शपथग्रहणमा सहभागी भएर मोदीलाई बधाई दिने औपचारिक कार्यक्रम भएकाले आपसी विश्वास बढाउन यो भ्रमण सहयोगी हुने बताए । ‘भारतका प्रधानमन्त्रीको शपग्रहणमा हाम्रो प्रधानमन्त्रीज्यू सहभागी भएर बधाई दिनु आफैंमा कूटनीतिक महत्त्व हुने नै भयो,’ उनले भने, ‘यसले आपसी विश्वास बढाउन मद्दत गर्छ ।’ नयाँदिल्लीमा दाहालले आइतबार भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्ट्र्रै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले सोमबार बिहान नयाँदिल्लीस्थित नेपालको दूतावासमा छलफल गर्ने कार्यक्रम छ । सोमबार नै फर्किने गरी जान लागेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित कानुनमन्त्री पदम गिरी, परराष्ट्र मन्त्रालय सचिव सेवा लम्साल, स्वकीय सचिव गंगा दाहाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत ७ जना हुनेछन् ।
नयाँ सत्ता समीकरण बनेपछि अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत वैशाख २० को बैठकले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतले तत्काल असन्तुष्टि जनाएको थियो । भारतीय विदेशमन्त्री एस। जयशंकरले दुई देशबीच स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको टिप्पणी गरेका थिए । नेपालले सुगौली सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर २०७७ जेठ ७ मा नेपालको नयाँ राजनीतिक र प्रशासनिक चुच्चे नक्सा लागू गरेको थियो । एमाले अध्यक्ष एवं केपी शर्मा ओली प्रधानमन्त्री छँदा उक्त नक्सा जारी भएपछि चिसिएको नेपाल–भारत सम्बन्धमा एक सयका नोटमा पनि चुच्चे नक्सा राख्ने दाहाल सरकारको निर्णयले भारत थप बिच्किएको मानिन्छ ।
मोदीको शपथग्रहणपछि दुई समकक्षी नेताबीच हुने भेटवार्तामा दाहालले नयाँ समीकरणको सरकारले लिने भारत नीति विगतजस्तै रहेको आश्वस्त पार्ने छन् । उनले गत जेठमा भारतसँग भएका ऊर्जा व्यापार, पूर्वाधार लगायत सम्झौता कार्यान्वयनका लागि त्यहाँका अधिकारीसँग कुरा गर्ने अवसर भएको सल्लाहकार सापकोटाले बताए । ‘विगतमा भएका सम्झौता, समझदारी कार्यान्वयनलाई तीव्रता दिन यो भ्रमण राम्रो संयोग हुन सक्छ,’ उनले भने, ‘समीकरण फेरिए पनि विगतजस्तै नेपाल सरकारले सन्तुलित विदेश नीति अपनाउँदै आएको छ ।’
माओवादी विदेश विभाग पूर्वप्रमुख एवं सचिव राम कार्कीले भ्रमण र संवाद जति सहज भयो, सम्बन्ध सुधारका लागि त्यति खुला छलफल हुने भएकाले प्रधानमन्त्रीको यो भ्रमण ‘बधाई र धन्यवाद’ मा मात्र सीमित हुन नहुने बताए । ‘मोदीजीको पनि गठबन्धन सरकार बन्दै छ, यता हाम्रो पनि गठबन्धन सरकार छ । यी गठबन्धन सरकारले दुई देशको हितमा कुरा गर्न औपचारिक तिथिमिति कुरिराख्नुपर्छ भन्ने छैन । भेट हुँदा आफ्ना कुरा राख्नुपर्छ ।’ दाहालको ‘तरल नीति’ का कारण उनीमाथि कहिले चीन र कहिले भारततिर ढल्केको आरोप लाग्ने गरेको छ । गत पुसमा नेपालस्थित भारतीय दूतावासले २० करोडसम्म सिधै अनुदान दिन सक्ने सम्झौता भएको थियो । उक्त सम्झौता भारतमा नेपालको प्रभाव बढाउन गरिएको भन्दै दाहाल सरकारको आलोचना भएको थियो ।
कांग्रेससहितको गठबन्धन सरकारको प्रधानमन्त्रीका रूपमा दाहालले गतवर्ष जेठ १७ देखि २० सम्म औपचारिक भ्रमण गरेका थिए । त्यसबेला १० वर्षमा १० हजार मेगावाट ऊर्जा व्यापार सम्झौता भएको थियो । प्रधानमन्त्रीका रूपमा भने दाहालको यो पाँचौं भारत भ्रमण हुनेछ । पहिलो पटक २०६५ सालमा प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गरेका दाहाल त्यसपछि २०७३, २०७९ र २०८० मा पुगेका थिए ।
त्यसैगरी दाहाल २०७९ साउनमा माओवादी अध्यक्षको हैसियतले भारत भ्रमण गर्दै सरकारको नेतृत्व गरेको भाजपाको केन्द्रीय कार्यालय पुगेर त्यहाँका नेताहरूसँग छलफल गरेका थिए । जबकि २०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुकमांगत कटवाललाई कारबाही गर्न खोज्दा प्रधानमन्त्री दाहालले राजीनामा दिएर राष्ट्रिय स्वाधीनताका नाममा भारतविरुद्ध आन्दोलन घोषणा गरेका थिए । त्यसपछि भारतले दाहाललाई विश्वास र शंका दुवै हिसाबले व्यवहार गर्दै आएको छ ।
