काठमाडौं, २८ जेठ–नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहेको आरोप लगाएका छन् ।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खड्काले उनीहरू संघका अध्यक्ष र सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउन लागिरहेको आरोप लगाएका हुन् ।
‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्वपूर्ण रहेको छ । यद्यपि यी सबैबीच संघका अध्यक्ष, सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैमा दुखदः हो,’ उनले लेखेका छन् ।
खड्काले यसबारे कानूनी उपचार खोजिने चेतावनी समेत दिएका छन् । ‘मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानूनी उपचार समेत खोजिने छ,’ उनले भनेका छन् ।
नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नहुन उनले आग्रह गरेका छन् ।

