काठमाण्डौं, २८ जेठ–नेकपा (एकीकृत समाजवादी) मा १०औं महाधिवेशनकेन्द्रित बहस सुरु भएको छ । समाजवाद अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले समाजवादी क्रान्ति अगाडि बढाउने संकल्प गरेका छन् । तर, त्यसको मोडालिटीमा भने तीनै नेताको फरक मत छ । बहसको संयोजन युवा नेताहरू अशेष घिमिरे, दामोदर अर्याल, अर्जुन राईलगायतले गरेका हुन् ।

नेपालले अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको वस्तुस्थितिको ठीक विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए । उनले काल्पनिक समाजवाद नभई वैज्ञानिक समाजवादमा जानुपर्ने बताए । खनाल र भुसालले अहिलेको अवस्थामा समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्न सक्ने दाबी गरे ।

नेपाली समाजलाई बुझेर मात्रै अगाडि बढ्नुपर्नेमा नेपालले जोड दिए । ‘कम्युनिस्ट आन्दोलनको चुनौती बुझेनौँ भने आन्दोलनलाई अगाडि बढाएर लान सकिँदैन । यथार्थ जानकारी राख्ने, विश्लेषण गर्ने, चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामीले नेपालको विशिष्ट भूराजनीतिक अवस्थालाई ध्यानमा राख्नुपर्छ । यदि मनोगत भएर चलियो भने केही गर्न सकिँदैन । हामी सबैले बुद्धि खियाउनुपर्ने आवश्यकता पर्छ । संसार हामीले सोचेजस्तो सजिलो छैन । लोकप्रियतावादका पनि निकै ठूलो आवाज सुन्ने गर्छौँ ।’

नेता खनालले आज पनि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी यथास्थितिवाद हाबी रहेको दाबी गरे । नीति र नेतृत्वमा ठीक समन्वय गरेर नयाँ वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रूपान्तरण गर्न सक्नुपर्नेमा उनले जोड दिए । ठीक ढंगले वर्ग विश्लेषणसहित अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । ‘अहिले समग्र कम्युनिस्ट पार्टी र एकीकृत समाजवादीमा पनि वर्गीय अन्योल देखिन्छ । पार्टी वर्गभित्र पुग्नै सकेको छैन । वर्गभित्र पुर्‍याउन सक्दा मात्रै पार्टी बलियो हुन्छ । शोषणमा परेका, गरिब, उत्पीडित जनतालाई समाजवादी क्रान्ति चाहिएको छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवादलाई तोडेर जबसम्म समाजवादी नीति, सिद्धान्त, कार्यक्रम अगाडि बढाउन सक्दैनौँ, तबसम्म समाजवादी क्रान्ति अगाडि बढ्न सक्दैन ।’ वैचारिक संघर्ष गरिएन भने बुर्जुवाले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई रूपान्तरण गरिदिने उनले बताए ।

महासचिव भुसालले नेपाली समाजवादी क्रान्तिलाई अगाडि बढाउने दायित्व एकीकृत समाजवादीको काँधमा आएको बताए । उनले एमाले र माओवादीले समाजवादी क्रान्तिलाई अगाडि बढाउन नसक्ने दाबी गरे । ‘एमालेले आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ । त्यसका विरुद्धमा प्रयत्न हुनेछ र त्यहीवरिपरि रहनेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यस हिसाबले सिद्धान्त बुझ्ने उमेरका हिसाबले भन्ने हो भने माओवादी केन्द्रको उमेर पुगेको छैन । यस अर्थमा एकीकृत समाजवादीले नेपाली समाजवादी क्रान्तिको बाटोलाई, विचारलाई, संगठनलाई ट्र्यापमा राख्नु, बचाइराख्नु र फैलाउने दायित्व एकीकृत समाजवादीको काँधमा छ,’ उनले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *