पोखरा, ३० जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे ।

आज (बुधबार) समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’

अध्यक्ष नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नु भयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनि मात्रै बनेको हो’, उनले भने । अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको दाबी गरे । अध्यक्ष नेपालले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो,’ अध्यक्ष नेपालले भने, ‘दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम–गयाराम भइरहन्छ । गयाराम भन्दा आयाराम बढी छन् ।’

पार्टीलाई समाप्त पार्न खोज्ने प्रयास गर्नेहरू हुनु स्वाभाविक भएको अध्यक्ष नेपालको भनाइ छ । ‘यो धर्तिमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौं । तपाईंहरू ९पत्रकार० नेपालको खुफिया हो । सूचना पाए बताई दिनुहोला,’ उनले भने । उनले आफूमा कुनै राजनीतिक बेचैनी नरहेको जिकिर गरे ।

आगामी असार १६ देखि हुने महाधिवेशनमा मिलेर जाने र त्यसका लागि पार्टीमा छलफल भइरहेको उनले बताए । सबै राजनीतिक दलसँग आफ्नो सम्बन्ध राम्रो रहेको र कुनै घोचपेच नरहेको अध्यक्ष नेपालले दाबी गरे । वर्तमान समीकरण बन्दा यसअघिको समीकरणमा भएका दललाई गाली गर्न आवश्यक नरहेको बताए । ‘उहाँहरूलाई गाली गर्नुपर्ने केही छैन । उहाँहरू पनि लोकतान्त्रिक, वामपन्थी शक्ति हुनुहुन्थ्यो,’ उनले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *