दमक, ३० जेठ–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज ११औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर योग शिविर सञ्चालन गरेको छ ।

दमक–६ बेलगाँगी रोडस्थित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा आजबाट सप्ताहव्यापी योग शिविर सञ्चालन गरेको हो ।

कार्यक्रमको उद्घाटनको अवसरमा सो सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल कुमार घिमिरेका अनुसार स्वर्णलक्ष्मी योग साधना केन्द्र स्थापनाका लागि ११औं अन्तराष्ट्रिय योग शिविरको अवसरमा योग शिविर सञ्चालन गरिएको हो ।

बुधबार बिहान योग शिविरको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) ले उद्घाटन गर्नुभएको छ । नगर उप्रमुख भट्टराईको प्रमुख आतिथ्यमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन समेत गर्नुभएको थियो । उपप्रमुख भट्टराईले दमकलाई योग मैत्री नगर घोषणा गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

उपप्रमुख भट्टराईले अब नगरका हरेक बिद्यालयमा योगप्रति आकर्षित गराउने किसिमका थोरै समयको भएपनि विशेष कक्षा सञ्चालन अनिवार्य गरिन लागेको पनि बताइन् ।
योगका माध्यमबाट स्वस्थ समाज निर्माणमा योग साधक योगीहरुले महत्वपूर्ण योगदान दिन सक्ने उपप्रमुख भट्टराईको धारणा छ ।

संघ–संस्थाहरुले सञ्चालन गर्ने योग साधना केन्द्रहरुमा आवश्यक परेको खण्डमा सहयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।

सो अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले पनि आफ्नो वडामा रहेको स्वर्णलक्ष्मी सहकारीले योग साधना केन्द्र सञ्चालन गरेर सकारात्मक कामको थालनी गरेको भनि प्रशंसा गरे । उनले आवश्यक सहयोगका लागि तयार रहेको पनि बताए ।

सो अवसरमा पतञ्जली योग समिति कोशी प्रदेश महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, महिला पतञ्जली योग समिति झापाकी अध्यक्ष प्रेमकुमारी निरौला र योग समितिका किरण उप्रेतीले पनि स्वस्थ जिवनका लागि नियमित योगको अभ्यासमा जोड दिए ।

स्वर्णलक्ष्मी सहकारी संस्थाकी सञ्चालक पुनम रिजालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम संस्थाका अध्यक्ष बुद्धिसागर बराल (बिमल) को सभापतित्वमा भएको थियो भने सञ्चालन व्यवस्थापक कमलकुमार घिमिरेले गरेका थिए ।

अन्तराष्ट्रिय योग दिवस हरेक बर्षको जुन २१ का दिन मनाउने गरिन्छ । आजैदेखि सप्ताहव्यापी रुपमा नेपालमा समेत योग दिवस मनाउने कार्यक्रमहरु सार्वजनिक भएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा मोदीले प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । त्यसयता जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन् ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा लिने गरिन्छ । योगले मानिसको जीवन शैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा स्वस्थ र चुस्त राख्न मद्दत गर्ने योग बिषयका जानकारहरु बताउँछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *