प्रदीप पौडेल

गण्डकी, २४ कार्तिक–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्।

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताए।

स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम रु पाँच लाख पुर्‍याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए। देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्‍याउनु आवश्यक भएको बताए।

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभई त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे। सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको बताए।

कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *